हङकङसामु नेपाल फराकिलो रन अन्तरले पराजित, उपाधि होडबाट बाहिरियो
काठमाडौँ, कार्तिक ३० । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा नेपाल दोस्रो खेलमा आयोजक हङ्कङसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भएको छ ।
नेपालले लगातार दोस्रो हार ब्यहोर्दै उपाधि होडबाट बाहिरिएको हो । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले १८ ओभरमा अलआउट हुनुअघि ५६ रनमात्र बनाउन सक्यो ।
जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली हङ्कङले भने नौ ओभरमा केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । हङ्कङको जितमा ओपनर नताशा माइल्सले अविजित ३० रनको योगदान गरिन् ।
उनले २३ बलमा चार चौका पनि हिर्काएकी थिइन् । अर्की ओपनर मार्को हिल पाँच रनमा आउट भइन् । उनी रन आउट भई पेभेलियन फर्किएकी थिइन् ।
सान्जिन सहजादले पनि अविजित २० रनको योगदान गरिन् । उनले २७ बलको सामना गरी तीन चौका हिर्काइन् ।
नेपालका लागि निवर्तमान कप्तान रुबिना क्षेत्रीले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् । सातौँ नम्बरमा क्रिज समाल्न आएकी रुबिनाले २५ रन बनाइन् । उनले ३० बलको सामना गरी चार चौका पनि हिर्काइन् ।
नेपालका तीन ब्याट्रले खाता पनि खोल्न सकेनन् । नेपालका तीन खेलाडी एक रनभन्दा अगाडि बढ्न सकेनन् । नेपालले अतिरिक्त रुपमा ६ रन पाएको थियो । हङ्कङकी बलर इकरा साहरले तीन विकेट, रुचिथा वेंकटेसले दुई र बेट्टी चान, मार्को हिल र केरी चानले एक—एक विकेट लिए ।
त्यसअघि नेपाली टोलीले पाँच रनको कुल स्कोरमै चार विकेट गुमाएको थियो । नेपाली ब्याट्रहरु एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए । नेपालले पहिलो विकेटका रुपमा ओपनर पूजा महतोलाई गुमाएको थियो ।
यसअघि बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली तान्जनियासँग २७ रनले पराजित भएको थियो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । त्यो खेलमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।
जारी शृंखलामा सहभागी चारवटै टोलीले दुई—दुई खेल खेलिसक्दा सतप्रतिशत नतिजा निकालेको हङ्कङ चार अंकसहित पहिलो र समान अंक जोडेको तान्जनिया दोस्रो स्थानमा आसिन छन् । नेट रन रेटमा तान्जनियाभन्दा हङ्कङ अगाडि छ । हालसम्म खाता खोल्न नसकेको नेपाल तेस्रो र जापान चौथो स्थानमा छन् ।
नेपालले आफ्नो तेस्रो खेल शनिबार जापानसँग खेल्नेछ । सोही दिन तान्जनिया र हङ्कङबिच अर्को खेल हुनेछ । नेपाल र जापान दुबै यसअघि नै उपाधि होडबाट बाहिरिइसकेकाले यी दुई टोलीले अब तेस्रो र चौथो स्थानका लागि आइतबार आपसमा भिडन्त गर्नेछन् ।
प्रकाशित मिति: ३० कार्तिक २०८०, बिहिबार