रचिनले तोडे सचिनको कीर्तिमान
एजेन्सी । न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्रले भारतका महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् ।
२३ वर्षीय रचिनले आईसीसी एकदिवसीय विश्वकपको बिहीबार राति सम्पन्न श्रीलंकाविरुद्धको खेलमा सचिनको कीर्तिमान तोडेका हुन् ।
उक्त खेलमा ओपनर ब्याट्सम्यान रचिनले ३४ बलमा तीन छक्का र तीन चौकाको मद्दतले ४२ रन बनाउँदै पाँच सय ६५ रन बनाएर सचिवको कीर्तिमान तोडेका हुन् ।
यससंगै रचिन २५ वर्षभन्दा कम उमेरमा एकदिवसीय विश्वकपको एउटै संस्करणमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान बनेका छन् ।
यसअघि यो कीर्तिमान सचिनको नाममा थियो । सचिनले सन् १९९६ को एकदिवसीय विश्वकपमा कुल पाँच सय २३ रन बनाएका थिए ।
त्यतिबेला सचिनको उमेर पनि २३ वर्ष नै थियो । रचिनले भने यो विश्वकपमा हालसम्म नौ खेल खेलेर कुल पाँच सय ६५ रन बनाइसकेका छन् । रचिन जारी विश्वकपमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि सबैभन्दा अगाडि रहेका छन् ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक रहेका छन् । उनले हालसम्म आठ खेल खेल्दै कुल पाँच सय ५० रन बनाएका छन् ।
यसैगरी तेस्रो स्थानमा रहेका भारतीय ब्याट्सम्यान विराट कोहलीले पाँच खेलबाट पाँच सय ४३ रन बनाएका छन् । जारी विश्वकपमा रचिनले हालसम्म तीन सतक र दुईवटा अर्धसतक प्रहार गरिसकेका छन् ।
श्रीलंकाविरुद्धको उक्त खेलमा न्युजिल्यान्ड पाँच विकेटले विजयी भएको थियो ।
प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार