श्रीलंकाली अदालतद्वारा क्रिकेट बोर्ड बर्खास्त गर्ने निर्णय खारेज


 


काठमाडौं, कात्तिक २१ । श्रीलंकाको पुनरावेदन अदालतले क्रिकेट बोर्ड बर्खास्त गर्ने निर्णय खारेज गरेको छ ।

श्रीलंकन सरकारले क्रिकेट बोर्ड बर्खास्त गर्ने निर्णय गरेको थियो । सोमबार श्रीलंका क्रिकेट बोर्डलाई बर्खास्त गर्ने र एउटा अन्तरिम समिति नियुक्त गर्ने मन्त्री रोशन रणसिङ्घेको कदमलाई चुनौती दिँदै बोर्डका अध्यक्ष शम्मी सिल्भाले दायर गरेको निवेदनलाई अदालतले स्वीकार गरेको हो।

साथै अदालतले पूरा सुनुवाइ नभएसम्म निष्कासित अधिकारीहरूलाई पुनरबहाली गरेको छ।

अदालतले पूर्वकप्तान अर्जुना रणतुङ्गाको अध्यक्षताको अन्तरिम समितिलाई कार्यालयमा निरन्तरता दिन रोक लगाउने आदेश प्राप्त गरेपछि सिल्भा काममा फर्किनेछन् ।

विश्वकप प्रतियोगितामा भारतसँग श्रीलंकाको लज्जास्पद पराजयपछि खेलमन्त्रीले यस्तो कदम चालेका थिए।

व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलंका क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ।

श्रीलंकाले सन् १९९६ को विश्वकप जितेको थियो ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्