घृणा फैलाउने टिप्पणीले भरियो चीनस्थित इजरायली राजदूतावासको वेइबो अकाउन्ट


 


बेइजिङ । इजरायलमाथि हमासको आक्रमणसँगै चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले वेइबोमा रहेको बेइजिङस्थित इजरायली राजदूतावासको अकाउन्टमा घृणायुक्त सन्देश पठाउन थालेका छन् ।

हमासको आक्रमणलगत्तै वेइबोमा इजरायली दूतावासले पोस्ट गरेको थियो । त्यसलगत्तै वेइबोमा इजरायलविरोधी टिप्पणी आउन थालेका थिए ।

केही सामाजिक सञ्जाल प्रयोकर्ताहरुले यहूदीबहुल मुलुक इजरायलमाथि हमासको आक्रमणको प्रसंशा गर्दै जर्मन तानाशाह अडोल्फ हिटलरको समेत स्मरण गरेका थिए । हिटलरले दोस्रो विश्वयुद्धका बेला ६० लाख यहूदीहरुको नरसंहार गरेका थिए।

राजदूतावाको वेइबो अकाउन्टमा २ करोड ४० लाखभन्दा धेरै फलोअर्सहरु रहेका छन् । राजदूतावासको पोस्टमा टिप्पणी गर्नेमध्ये केहीले आफ्नो डिस्पले पिक्चर परिवर्तन गरी हिटलरको नाजी पार्टीको झण्डा र ‘स्वस्तिक’ छापसमेत राखेको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।

यद्यपि केहीले भने इजरायली सहनशीलताको प्रसंशा गरेकोसमेत भ्वाइस अफ अमेरिकाले जनाएको छ । यद्यपि अधिकांशले भने घृणा फैलाउने टिप्पणी गरेको जनाइएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्