डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, पाँच घाइते
डोटी । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । शनिबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्युु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
मृत्युु हुनेमा बाजुराको हिमालि गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने बिमला मलालकि ८ महिना की छोरी प्रार्थना रहेका छन् ।
घाइते हुनेमा हिमाली गाउँपालिका-५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया बिमला मलाल र २१ वर्षकै राज बहादुर मलाल रहेको प्रहरीले जनाएको छ ।
उनीहरू मध्ये बिमलाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ भने चालक गौमुल गाउँपालिका-४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एक्कासि अनियन्त्रित भएर सडकबाट करीब ६० मिटर तल खसेको जिप दुर्घटनाको कारण भने खुलेको छैन ।
प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार