अलेप्पोमा जारी सैन्य कारवाही समाप्त
काठमाडौं, मंसिर २९
रुसले सिरियाको पूर्वी अलेप्पोमा लामो समयदेखि जारी सैन्य कारवाही समाप्त भएको घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भिटाली चुर्किनले सिरियाका सरकारी सेनाले पूर्वी अलेप्पोमा आफ्नो नियन्त्रण कायम गरेको भन्दै त्यहाँ सैन्य कारवाही समाप्त भएको बताए ।
राष्ट्रसंघीय सुरक्षा परिषद बैठकमा उनले आईएस लडाकुलाई त्यहाँबाट हट्ने व्यवस्था मिलाइएको जानकारी दिए । चुर्किनले आईएस लडाकुले यस्तो सहमति निश्चित गरेको र उनीहरुसँगै सर्वसाधरणलाई पनि हट्न सुरक्षित मार्ग दिइने बताए ।
विकसित पछिल्लो घटना क्रमसंगै अलेप्पोमा चार वर्ष यता चलेको भिषण संघर्ष अन्त्य हुने संकेत देखिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यद्यपि, अधिकारवादीहरुले सर्वसाधारण र विपक्षीलाई उधृत गर्दै रुस र सिरियाली सेनाले त्यहाँ नरसंहार मच्चाएको आरोप लगाएका छन् । राष्ट्रसंघले नै रुस र सिरियाली सेनाले ८२ जना सर्वसाधारणको हत्या गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।
रुसले भने आरोपको खण्डन गर्दै आएको छ । सिरियाली संघर्षमा रुसले सरकारी सेनालाई हवाई आक्रमणबाट सघाइरहेको छ । लामो समयदेखि आईएसले पूर्वी अलेप्पो कब्जा जमाएर बसेका थिए ।
प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार