एमाले अध्यक्ष ओलीले भने – घाइतेहरूलाई तत्काल उद्धार र उपचारको प्रबन्ध गरौँ


 


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा उपचार प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले उद्धार र घाइतेको उपचारका लागि ठूलो संख्यामा स्वास्थ्यकर्मी आवश्यक रहेको बताए ।

“मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम (पश्चिम)मा ठूलो मानवीय क्षति भएको छ । ६।४ म्याग्निच्युटको भूकम्पले कयौं घाइते छन्,” उनले भनेका छन्, “राति आएको भूकम्पका कारण उद्दार प्रभावकारी हुन सकेको छैन । मैले बिहान त्यहाँका केही साथीसँग टेलिफोनमा कुराकानी गरेँ । यतिबेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ ।”

ओलीले सबैलाई उद्धारमा खटिन आग्रह गरेका छन् । “घाइतेहरूलाई तत्काल उद्धार र उपचारको प्रबन्ध गरौँ । यो बाहिरकाले सहयोग पुर्याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नु पर्ने समय हो,” उनले भनेका छन् । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगिसकेको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्