पाकिस्तानमा पोलियोको प्रकोप


 


इस्लामावाद । पाकिस्तानमा पुनः पोलियोको प्रकोप देखिएको छ । मुलुकका विभिन्न चार सहरमा संकलन गरिएका नमूनाको परीक्षण गर्दा वाइल्ड पोलियोभाइरस १ (डब्लूपीभी १) देखिएको हो ।

पाकिस्तानको एआरवाई न्यूजले जनाएअनुसार कराँची, पेशावर, रावलपिण्डी र चमन सहरबाट संकलन गरिएका नमूनाको परीक्षण गर्दा पोलियो देखिएको हो । पाकिस्तानको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानको पोलियो प्रयोगशालालाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार ती भाइरस अफगानिस्तानबाट आएको देखिएको छ ।

यता पाकिस्तानका स्वास्थ्यमन्त्री डा. नदिम जानले पोलियो पत्ता लागेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले बालबालिकालाई पोलियोबाट जोगाउन आवश्यक सबै कदम चाल्नसमेत अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

योसँगै पाकिस्तानमा परीक्षण गरिएका ४३ नमूनामा पोलियो देखिएको छ । यसअघि स्वास्थ्यमन्त्री जानले मुलुकमा देखिएका ९० प्रतिशतभन्दा धेरै पोलियो ‘अफगानिस्तानबाट आयात भएको’ टिप्पणी गरेका थिए ।

प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्