चीनमा लगातार तेस्रो महिना घरको मूल्यमा गिरावट


 


बेइजिङ । चीनमा लगातार तेस्रो महिना घरको मूल्य घटेको पाइएको छ ।

चीनको राष्ट्रिय तथ्यांक ब्युरोले जारी गरेको पछिल्लो तथ्यांकअनुसार सेप्टेम्बर महिनामा मुलुकमा घरको मूल्यमा ० दशमलब २ प्रतिशतको गिरावट देखिएको छ । अघिल्लो महिना अगस्टमा यो ० दशमलब ३ प्रतिशतले घटेको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यस तथ्यांकबाट पछिल्लो समय संकटबाट गुज्रिरहेको चीनको घरजग्गा क्षेत्र अझै सुदृढ हुन नसकेको देखिएको छ ।

कुनै समय चीनको आर्थिक वृद्धिको महत्वपूर्ण हिस्सा ठानिएको घरजग्गा व्यवसायमा पछिल्लो समय गिरावट आएको छ । सन् २०२० यता कठोर सरकारी नियमनको सामना गरिरहेको यस क्षेत्रलाई पुनः चलायमान बनाउन सरकारले प्रयास गरेपनि असफल हुन नसकेको रोयटर्सको विश्लेषण छ ।

चीनमा सेप्टेम्बर र अक्टोबर महिनामा अन्य समयको तुलनामा बढी नयाँ घरको कारोबार हुने गरेको बताइन्छ । तथ्यांकमा उल्लेखित ७० मध्ये ५४ सहरमा घरको मूल्यमा गिरावट देखिएको छ ।

यसअघि अगस्ट महिनामा ७० मध्ये ५२ सहरमा घरको मूल्यमा गिरावट देखिएको थियो ।

प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्