एसिया क्षेत्रबाट नेपाल र ओमान विश्वकपमा छनोट
काठमाडौं, कार्तिक १७ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटबाट नेपाल र ओमान विश्वकपमा छानिएका छन् ।
शुक्रबार भएको दुईवटा सेमिफाइनल खेलहरुबाट नेपाल र ओमान फाइनलमा जाँदै विश्वकपमा छानिएका हुन् ।
मुलपानी क्रिकेट मैदानमा युएईलाई आठ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ भने टियु क्रिकेट मैदानमा ओमानले बहराइनलाई १० विकेटले पारजित गर्यो । यससंगै यी दुबै टोलीले विश्वकपमा स्थान बनाएका हुन् ।
विक्वपमा छनोट भएसंगै २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । पहिलो सेमिफाइनल खेलमा ओमानले जितको लागि १ सय ७ रनको सामान्य विजयी लक्ष्य पछ्याएकोमा १४.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
ओमानको जितमा कश्याप प्रजापति ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रनमा नट आउट रहे । प्रतीक अथवले ४१ बलमा ४ चौका र १ छक्कासहित ४८ रनमा नट आउट रहे । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।
बहराइनका इमरान अलीले २३ बलमा ५ चौकासहित सर्वाधिक ३० रन बनाए । शरफराज अलीले २३ र अहमेर बिन निसारले २६ रन बनाए । ओमानका अकिब इल्यासले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिए ।
सकिल अहमदले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । फयाज बट, बिलाल खान र जिशान मकसुदले एक/एक विकेट लिए । ओमानले उपाधिको लागि नेपाल र युएईबीचको विजेतासँग आइतबार फाइनल खेल्नेछ ।
प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार