युएईलाई आठ विकेटले हराउँदै नेपाल टि२० विश्वकपमा
काठमाडौं, कार्तिक १७ । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुगेको छ ।
नेपालले १० वर्षपछि टि२० विश्वकपमा स्थान बनाएको हो । नेपालले २०१४ मा पहिलो टि२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७. ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । नेपालका आसिफ शेख ५१ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
स्पिनर निलांश केस्वानीको बलमा ठूलो सर्ट खेलेका कुशल भुर्तेल लङअनमा मोहम्मद वासिमबाट ११ रनमा क्याच आउट भए । भुर्तेलले ८ बलमा २ चौका हानेका थिए । दोस्रो विकेटका लागि गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरेका थिए ।
बासिल हामिदले दशौं ओभरको तेस्रो बलमा गुलशनलाई २२ रनमा बोल्ड आउट गरे । गुलशनले २४ बलमा ३ चौका प्रहार गरे । युएईका निलांश केस्वानी र बासिल हामिदले समान एक एक एक विकेट लिए । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।
त्यो जितको लागि पर्याप्त थिएन । युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । अन्य कुनैपनि युएईका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । चौथो ओभरको पहिलो बलमा खालिद शाह ३ रनमा रन आउट भए ।
तीव्र गतिका बलर सोमपाल कामीको बलमा ननस्ट्राइकबाट दौडनेक्रममा उनी आउट भएका थिए । सोमपालले नै रन आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । सोमपालको चौथो ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका वासिम डिप मिडविकेटमा करण केसीबाट क्याच आउट भए ।
वासिमले १६ बलमा ३ चौका र २ छक्कासहित २६ रनको आक्रामक इनिङ खेलेका थिए । त्यो विकेट नै खेलको टर्निङ प्वाइन्ट बनेको थियो । सन्दीपले १० औं ओभरको अन्तिम बलमा आसिफ खानलाई १३ रनमा एलबीडब्लू आउट गरे । कुशल मल्लको १४ औं ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका एलिशान शराफु १६ रनमा लङअफमा सोमपाल कामीबाट क्याच आउट भए ।
शराफुले १४ बल खेल्दा ३ चौका हानेका थिए । कप्तान रोहित पौडेलको १६ औं ओभरको पाँचौं बलमा अली नासिर लङअफमा कुशल भुर्तेलबाट ४ रनमा क्याच आउट भए । एलिशान शराफु १६, आसिफ खान १३, अली नासिर ४, बासिल हामिद र आयन खान १–१ रनमा आउट भए । नेपालका कुशल मल्लले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए ।
सन्दीप लामिछानले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लि । कप्तान रोहित पौडेलले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । नेपालले अव उपाधिको लागि फाइनलमा आइतबार ओमानसँग खेल्नेछ ।
ओमानले पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । नेपालले २०१४ पछि टि२० विश्वकपमा पहिलो पटक स्थान बनाएको हो ।
प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार