पाँच वर्षदेखि अलपत्र चक्रपथ सडक विस्तार आयोजना
काठमाडौं । चिनियाँ कम्पनी ‘सांघाइ कन्स्ट्रक्सन’ले २०७० सालदेखि काठमाडौंको चक्रपथ विस्तारको काम अघि बढाएको थियो । पहिलो चरणमा कलंकी–कोटेश्वर खण्डको साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ । तर, चक्रपथ दोस्रो विस्तार सुधार आयोजना भने शुरु हुन सकेको छैन । सरकारी पक्षले प्रभावकारी समन्वय नगरेकै कारण चक्रपथ दोस्रो विस्तार सुधार आयोजनाले गति लिन नसकेको हो ।
चिनियाँ सरकारको अनुदान सहयोगमा काठमाडौं उपत्यकाभित्र चक्रपथ विस्तार गर्ने दुईपक्षीय सम्झौता भएको थियो । सम्झौता अनुसार चीनले पहिलो चरणमा कोटेश्वर–सातदोवाटो–एकान्तकुना–कलंकी सडक खण्ड निर्माण कार्य २०७५ मा नै सम्पन्न ग¥यो । पहिलो चरणको काम सम्पन्न भएपछि पाँच वर्षअघि २०७५ सालमै दोस्रो चरण अन्तर्गत कलंकी–चावहिल खण्ड ११.६ किलोमिटर ८ लेन सडक निर्माण गर्ने भनी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । सडक विस्तारको क्रममा समस्या ल्याउने भैतिक संरचना, भवन, मन्दिर, रुख लगायत साइट क्लियर भएपछि मात्र सडक विस्तारको काम अघि बढाउने सम्झौतामा उल्लेख छ । सोही अनुसार साइटहरु क्लियर नभएकै कारण सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि आयोजनाको काम तीब्र रुपमा अघि बढ्न नसकेको हो । जसका कारण भत्किएका सडक वर्षातको समयमा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेको छ ।
अहिले कलङ्की–वसुन्धारा खण्डको सडक अध्ययनको काम जारी रहेको छ भने चिनियाँ कम्पनीले पनि विस्तृत परियोजना अध्ययन (डीपीआर) तयार गरिरहेको छ । पहिलो चरणको कलंकी–कोटेश्वर खण्डमा चिनियाँ ठेकेदार कम्पनीले ८ लेन सडक निर्माण गरेको थियो भने सडकको दुवैतर्फको सर्भिस लेन नेपालले नै निर्माण गर्ने सम्झौता भएको थियो । दोस्रो खण्डको निर्माणको काम चिनियाँ कम्पनीले थाल्ने कि नेपाली पक्षले अन्यौल देखिन्छ । सम्झौता भएको ५ वर्षसम्म पनि सडक विस्तार कार्यले गति नलिएकोमा सत्तारुढ दलकै नेताहरु समेत असन्तुष्ट छन् ।
काठमाडौं चक्रपथ सुधार आयोजना भने अझै पनि ढिलासुस्ती नभएको दाबी गर्छ । कलकींदेखि चावहिलसम्मको ११.६ किलोमिटर सडक विस्तार गर्नुपर्ने भएपनि अहिले कलकींदेखि महाराजगञ्ज नारायणगोपाल चोकसम्मको ८.४ किमी सडक खण्डमा भत्काउनु पर्ने घरहरू र अधिग्रहण गर्नुपर्ने जग्गाबारे विवाद थाती नै छ भने स्वयम्भू क्षेत्रको धार्मिक सम्पदा भत्काउने विषयको विवाद पनि टुंगिएको छैन । अधिग्रहणका क्रममा ढुङ्गेधारा लगायतका सम्पदा हटाउन पुरातत्व विभागले अझै अनुमति दिएको छैन भने खानेपानीको पाइपका कारण पनि काम गर्न नसकेको सुधार योजनाको भनाई छ ।
दोस्रो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनी चक्रपथ विस्तार आयोजनाले १४ जेठ २०७५ मा सार्वजनिक सूचना जारी गरेको थियो । तर निर्माणस्थल अझैसम्म पनि पूर्ण रुपमा खाली हुन सकेको छैन । त्यसैले सरकार विस्तारका लागि सरकारले प्रभावकारी समन्वय नगर्ने हो भने सडक विस्तारको काम अघि नबढ्ने निश्चित छ ।
प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार