डिशहोमले पनि खेलाडीलाई पुरस्कार दिने, शतक प्रहार गरे १० लाख


 


काठमाडौं, कार्तिक १५ । नेपालमा जारी आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपाली खेलाडीको मनोबल वृद्धि गर्न डिशहोमले पनि पुरस्कार राशी घोषणा गरेको छ ।

डिशहोमको डिशहोम फाइबर नेटले बुधबार ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित पुरस्कार राशी घोषणा गरेको हो ।

जसअन्तर्गत जारी प्रतियोगिताका आगामी खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई १० लाख रुपैयाँ दिइनेछ ।

डिशहोम फाइबरनेटका अनुसार एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङका लागि ५० हजार रुपैयाँ दिने डिशहोमलेले जनाएको छ ।

नेपालले जारी छनोटमा सेमिफाइनलमा स्थान बनाइसकेको छ । समूहगत चरणको अन्तिम खेलमा बिहीबार ओमानसँग खेल्दै छ । सेमिफाइनल जितेमा नेपालले विश्वकपमा स्थान बनाउने छ ।

बिहीबारको खेलमा जित हासिल गरे समूह ‘ए’ विजेताका रुपमा नेपालले सेमिफाइनल खेल्नेछ ।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्