विश्वकप छनोट : सिंगापुरविरुद्ध नेपालको सानदार जित
काठमाडौं, कार्तिक १३ । घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा विजय सुरुवात गरेको छ ।
आज पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हि । उपाधि दाबेदार नेपालले अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको हो ।
जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।
उनले टि२० आई करिअरको सातौं अर्धशतक २६ बलमा पूरा गरेका थिए । टोलीलाई जितको लागि चार रन चाहिँदा अनन्त कृष्णलाई ठूलो सर्ट खेल्ने धुनमा कुशल लङअफमा क्याच आउट भएका थिए ।
रोहित पौडेल २४ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा क्रिजमा रहे । पहिलो बल खेलेका कुशल मल्लले छक्का हान्दै खेल सकाएका थिए ।
नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९.१ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अक्षय पुरीको बलमा आसिफ बोल्ड आउट भएका थिए ।
आसिफले २६ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए । सिंगापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले १-१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । सिंगापुरका ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए ।
डेब्यू खेल खेलेका आर्यवीर चौधरीले २६ बलमा ५ चौकासहित ३७ रनको योगदान दिएका थिए ।
तीव्र गतिका बलर करण केसीले दोस्रो बलमै सिंगापुरका कप्तान अरित्र दत्तलाई शून्यमा बोल्ड आउट गरेका थिए । त्यसपछि दोस्रो विकेटका लागि रोहन रंगराजन र सुरेन्द्रन चन्द्रमोहनले ५२ रनको साझेदारी गरेका थिए ।
स्पिनर सन्दीप लामिछानेले सातौं ओभरको पाँचौं बलमा चन्द्रमोहनलाई ६ रनमा बोल्ड आउट गरेका थिए । सन्दीपले आउट गर्नुअघि सिंगापुर ६.४ ओभरमा ५२–१ को अवस्थामा थियो ।
एकतर्फबाट उत्कृष्ट प्रदर्शन गरेका रंगराजन सन्दीप जोराको उत्कृष्ट क्याच आउट शिकार बनेका थिए । गुलशन झाको आठौं ओभरको पहिलो बलमा मिडअफमा सन्दीप जोराले एक हातले उत्कृष्ट क्याच लिदै उनलाई पेभेलिएन फर्काएका थिए ।
गुलशन झाले आमथ्र्य कौललाई शून्यमा कट एण्ड बोल्ड यसै ओभरमा गरेपछि नेपाल खेलमा फर्किएको थियो । राम्रो सुरुवात गरेको सिंगापुरले दुई रन जोड्न तीन विकेट गुमाएपछि ५२–१ को अवस्थाबाट ५४–४ को अवस्थामा पुगेको थियो ।
११ औं ओभरको दोस्रो बलमा सन्दीपले सिंगापुरका अलराउन्डर जनक प्रकाशलाई ७ रनमा एलबीडब्लू आउट गरे । एक समय १०.२ ओभरमा ७०–५ को अवस्थामा पुगेको सिंगापुरलाई विकेटकिपर मनप्रीत सिंह र अर्यावीर चौधरीले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए ।
करण केसीको १७ औं ओभरको तेस्रो बलमा ठूलो सर्ट खेलेका मनप्रीत लङअफमा रोहित पौडेलबाट क्याच आउट भएका थिए । उनले २६ बलमा ३ चौकासहित २४ रन बनाए । अक्षय पुरी ८ बलमा १ चौका र १ छक्कासहित १३ रनमा नट आउट रहे ।
नेपालका गुलशन झाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । करण केसीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।
अभिनाश बोहराले ४ ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए । नेपालले दोस्रो खेल मंगलबार मलेसिया र तेस्रो खेल बिहीबार ओमानसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ ।
प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार