सिंगापुरले नेपाललाई प्रतिस्पर्धात्मक १४६ रनको लक्ष्य
काठमाडौं, कार्तिक १३ । सिंगापुरले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । सिंगापुरका युवा ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।
डेब्यू खेल खेलेका आर्यवीर चौधरीले २६ बलमा ५ चौकासहित ३७ रन बनाए । तीव्र गतिका बलर करण केसीले दोस्रो बलमै सिंगापुरका कप्तान अरित्र दत्तलाई शून्यमा बोल्ड आउट गरेका थिए । त्यसपछि दोस्रो विकेटका लागि रोहन रंगराजन र सुरेन्द्रन चन्द्रमोहनले ५२ रनको साझेदारी गरेका थिए ।
स्पिनर सन्दीप लामिछानेले सातौं ओभरको पाँचौं बलमा चन्द्रमोहनलाई ६ रनमा बोल्ड आउट गरे । सन्दीपले आउट गर्नुअघि सिंगापुर ६।४ ओभरमा ५२–१ को अवस्थामा थियो । एकतर्फबाट उत्कृष्ट प्रदर्शन गरेका रंगराजन सन्दीप जोराको उत्कृष्ट क्याच आउट शिकार बने ।
गुलशन झाको आठौं ओभरको पहिलो बलमा मिडअफमा सन्दीप जोराले एक हातले उत्कृष्ट क्याच लिदै उनलाई पेभेलिएन फर्काए । गुलशन झाले आमथ्र्य कौललाई शून्यमा कट एण्ड बोल्ड यसै ओभरमा गरेपछि नेपाल खेलमा फर्किएको थियो ।
राम्रो सुरुवात गरेको सिंगापुरले दुई रन जोड्न तीन विकेट गुमाएपछि ५२–१ को अवस्थाबाट ५४–४ को अवस्थामा पुगेको थियो । ११ औं ओभरको दोस्रो बलमा सन्दीपले सिंगापुरका अलराउन्डर जनक प्रकाशलाई ७ रनमा एलबीडब्लू आउट गरे ।
एक समय १०.२ ओभरमा ७०–५ को अवस्थामा पुगेको सिंगापुरलाई विकेटकिपर मनप्रीत सिंह र अर्यावीर चौधरीले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । करण केसीको १७ औं ओभरको तेस्रो बलमा ठूलो सर्ट खेलेका मनप्रीत लङअफमा रोहित पौडेलबाट क्याच आउट भएका थिए । उनले २६ बलमा ३ चौकासहित २४ रन बनाए ।
अक्षय पुरी ८ बलमा १ चौका र १ छक्कासहित १३ रनमा नट आउट रहे । नेपालका गुलशन झाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।
करण केसीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए ।
प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार