मकवानपुरमा गाँजा र अफिम नष्ट गर्न १ सय ३७ जना प्रहरी परिचालन
मकवानपुर । मकवानपुरका कैलाश, राक्सिराङ, भीमफेदी र थाहा नगरपालिकामा लागूऔषध गाँजा र अफिम खेती अवैध रूपमा हुँदै आएकाे छ । लागूऔषध गाँजा तस्करीको त मकवानपुर ‘ट्रान्जिट प्वाइन्ट’ कै रूपमा रहेकाे छ । मकवानपुरमा लागूऔषध उत्पादन तथा ओसारपसारले प्रत्येक वर्ष समस्या निम्त्याउने गरेकाे छ । नेपालकाे कानुनले समेत लागूऔषधलाई अवैध भनेकाे छ ।
मकवानपुरका उक्त स्थानमा अवैध रूपमा लगाइएका गाँजा तथा अफिम खेती निर्मूल पार्न नेपाल प्रहरी र स्थानीय सरकारले योजना बनाएर काम गर्दा समेत असफल भएका छन् । फँडानीका लागि वर्षकाे केही समयमात्र प्रहरी परिचालन हुने भएकाेले समेत गाँजा तथा अफिम उत्पादन बढ्दै गइरहेको देखिन्छ ।
मकवानपुरमा गाँजाको विरुवा उम्रेर उत्पादनको तयारी हुने समयमा सयौँ प्रहरी जिल्लाको गाँजा खेती हुने कैलाश, राक्सिराङ, भीमफेदीको उत्तरी क्षेत्र, थाहा नगरका केही भागमा परिचालन हुन्छन् र फँडानीले तीब्रता पाउँछ । तर, समस्या भने घट्नुको साटो दिनानुदिन बढेको देखिन्छ । गाँजा उन्मुलन गर्दै तरकारी खेतीतर्फ आकर्षणका लागि स्थानीय पालिका तथा प्रहरी प्रशासनले सयौँ सचेतना कार्यक्रम, तरकारीको विउ वितरण लगाएका कामहरू गर्दै आइरहे पनि मकवानपुरमा भने गाँजा रोप्ने, तस्करी गर्ने क्रम भने रोकिएको छैन ।
प्रहरीले बर्सेनि मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा लागूऔषध फँडानी गर्दै आएको छ तर ती क्षेत्रमा अझै पनि गाँजा र अफिमको अवैध खेती हुन भने राेकिएकाे छैन । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले केही समयअघि मात्रै लागूऔषधको विकल्पमा कफी खेती प्रवर्द्धन गर्न सुरु गरेको थियो ।
तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा र अफिम नष्ट अभियान सुरु गरेको छ । लागूऔषधकाे खेती भएका स्थानमा गाँजा र अफिम खेती फँडानी गर्न मकवानपुर प्रहरीले आइतबार १ सय ३७ जना प्रहरी परिचालन गरेको छ । आइतबार प्रहरी निरीक्षकको कमाण्डमा मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न वडामा लागूऔषध फँडानी गर्न प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मकवानपुर प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार ५५ जना प्रहरी राक्सिराङ गाउँपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडाका विभिन्न स्थानमा लागूऔषध फँडानीका लागि खटिएका छन् । प्रहरी निरीक्षकको कमाण्डमा ४० जना प्रहरी राक्सिराङको १, २, ३ र ४ नम्बर वडाका विभिन्न स्थानमा खटिएका छन् ।
यस्तै प्रहरी निरीक्षककै कमाण्डमा ४० जना प्रहरी कैलाश गाउँपालिकाको विभिन्न वडामा परिचालन गरिएको छ भने २ जना प्रहरी ड्रोनसहित खटाइएको भण्डारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाे तथ्याङ्कमा समेत गाजाँ तथा अफिम खेती बढेको पाइन्छ । प्रहरीले गाँजा तथा अफिम खेती फँडानी कार्यमा तीव्रता दिएकाे भएपनि जिल्लामा हुने खेती र तस्करीको क्रम भने हालसम्म रोकिएको छैन । अझ तस्करीको दर बढेको छ । मकवानपुरको राक्सिराङ र कैलाशमा उत्पादन हुने लागूऔषध गाँजा र अफिम भारत निकासी हुने गरेको पाइन्छ ।
आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुर प्रहरीले ५ सय १९ जना प्रहरी परिचालन गरि १ सय ४४ विगहा ३ कठ्ठा १६ धुरमा लगाईएको गाँजा फँडानी तथा नष्ट गरेको थियो । यहि वर्ष प्रहरीले १ सय ४४ विगहा १४ कठ्ठामा लगाएको अफिम खेती पनि नष्ट गरेको थियो । तर, आर्थिक वर्ष २०७९/०८० मा अघिल्लाे आव भन्दा थप २ सय अर्थात १ सय ४६ विगहा १९ कठ्ठा गाँजा फँडानी भएकाे तथ्याङ्कले देखाउँछ । उक्त आवमा २ सय २४ विहगा ३ कठ्ठा क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरेको छ । यि जमिनमा लागूऔषध नष्ट गर्न प्रहरीको ४ सय ९७ जना जनशक्ति प्रयोग भएको थियो ।
मकवानपुर प्रहरीले चालु आर्थिक वर्षको करिब ४ महिनाको अवधिमा मकवानपुरमा लगाइएका १५ विगहा गाँजाखेति फँडानी तथा नष्ट गरिसकेकाे तथ्याङ्क छ ।
लागूऔषध उत्पादनसँगै जिल्लामा तस्करी तथा पक्राउको दर पनि बढ्दै गएकाे छ । मकवानपुर प्रहरीले आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ६ सय ६२ किलो गाँजा बरामद गरेको थियो भने १२ किलो अफिम बरामद गरेकाेमा २ सय ५६ जनालाई पक्राउ समेत गरेको थियो । तर, आर्थिक वर्ष २०७९–०८० मा त्यो दरमा तिब्र बृद्धि भएको छ । सो आर्थिक वर्षमा प्रहरीले ६ हजार ५ किलो गाँजा र १२ किलो अफिम बरामद गर्दै समग्र लागूऔषधको केशमा २ सय ४८ जनालाई पक्राउ गरेको छ ।
गाँजालाई लागूऔषधको रूपमा नेपालको कानुनमा ब्यवस्था भएपनि उत्तरी मकवानपुरका किसानहरू गाँजालाई आयश्रोतकाे माध्यमको रूपमा लिने गर्दछन् । सामन्यतया भदौमा लगाइने गाँजा मंसिर, पुससम्म तयार हुने गरेकाे पाइन्छ । किसानहरू आयाश्रोतको अन्य विकल्प र खेतियोग्य जमिनमा सिंचाईको सुविधा नहुँदा अन्य खेति गर्न नसक्ने अवस्थामा रहेकाे बताइन्छ ।
प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार