सन्दीपका मुख्य वकिल घिमिरे विदेशमा, कार्तिक २३ को पेसीमा उपस्थित हुने सम्भावना कम


 


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाको फाइनल पेसी आगामी कार्तिक २३ गते तोकिएको छ । पटक पटक स्थगित हुँदै आएको फाइनल पेसी कार्तिक २३ गते हुँदैछ । तर सन्दीपका मुख्य कानुन व्यवसायी सरोज कृष्ण घिमिरे भने अनुपस्थित रहने सम्भावना रहेको छ ।

उनी देशबाहिर रहेकाले फाइनल बहसका लागि कार्तिक २३ गते हुने सुनवाईमा उपस्थित नहुने स्रोत बताउँछ । उनी हाल मानव अधिकार सम्बन्धी कार्यक्रममा भाग लिनका लागि स्विट्जरल्यान्डको जेनेभामा छन् ।

उक्त कार्यक्रममा सहभागि भएपछि घिमिरे अर्को हप्ता फ्रान्सको पेरिसमा हुने अन्तर्राष्ट्रिय बार एसोसिएसनको वार्षिक साधारण सभामा भाग लिन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । यस्तै पेरिस पछि बेल्जियम को ब्रसेल्स हुँदै संयुक्त अधिराज्यको लन्डनबाट बिभिन्न कार्यक्रममा सहभागिता पछि मात्रै उनी फर्किने छन् ।

जसकारण अधिवक्ता घिमिरे सन्दीपको कार्तिक २३ गतेको पेसीमा सहभागि नहुने पक्का जस्तै छ । सन्दीपको अन्तिम पेसी अघि उनलाई नेपाल क्रिकेट संघले आगामी टी-२० विश्वकप छनोटका लागि टोलीमा समावेश गरेको छ।

शनिबार क्यानले १५ सदस्य टोलीको घोषणा गरेको हो । उनले यसअघि त्रिकोणात्मक टी-२० सिरिजमा भने मानसिक स्वास्थ्यका कारण खेल्न असमर्थ रहेको भन्दै टिमबाट नाम फिर्ता लिएका थिए ।

प्रकाशित मिति: १२ कार्तिक २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्