दक्षिणी चीन सागरमा चिनियाँ जहाजले आफ्नो जहाजलाई ठक्कर दिएको फिलिपिन्सको आरोप


 


काठमाडौं । फिलिपिन्सले दक्षिण चीन सागरमा आफ्नो जहाजलाई चिनियाँ तटीय जहाजले ठक्कर दिएको जनाएको छ । फिलिपिन्सले सेकेन्ड थोमस शोलमा रहेको आउटपोष्टमा पुग्नबाट रोक्न आफ्नो जहाजलाई चिनियाँ तटीय जहाजले दुई पटक ठक्कर दिएको आरोप लगाएको हो ।

फिलिपिन्सले उक्त क्षेत्रमा परिचालन गरेको जहाजका लागि चाहिने सामग्री आपूर्ति गर्ने जहाजलाई चीनले अवरोध गर्दै आएको छ । मनिलाले बेइजिङको गतिविधिले फिलिपिनो चालकदलको सुरक्षामा गम्भीर खतरामा परेको उल्लेख गरेको छ।

चीनले भने फिलिपिन्सले जानाजान समस्या सिर्जना गरेको प्रतिक्रिया दिएको छ । केही हप्ता यतादेखि फिलिपिन्स र चीनबीच त्यस क्षेत्रमा जहाज आउने जाने गतिविधिले तनाव उत्पन्न भएको छ ।

सन् २०२२को जूनमा फर्डिनान्ड मार्कोस जुनियरले सत्ता सम्हाले यता चीनको रवैया आक्रामक भएको फिलिपिनो अधिकारीहरुले बताएका छन् । गत मे महिनामा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले त्यस क्षेत्रमा चीनले हमला गरे प्रतिकारमा सघाउने वचन दिएको थियो । चीनले भने आफ्नो भौगोलिक अखण्डता नमिच्न र प्रतिरक्षालाई उत्तेजित नपार्न फिलिपिन्सलाई सचेत गराएको छ ।

चीनले दक्षिण चीन सागर र स्पार्ट्ले टापू आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ भने फिलिपिन्स्, भियतनाम, मलेशिया, ब्रुनाई र इन्डोनेसिया पनि आ-आफ्ना दाबी छाडेका छैनन् ।

सन् २०१६मा हेगस्थित अन्तरराष्ट्रिय स्थायी मध्यस्थता अदालतले दक्षिण चीन सागरमा चीनको दाबी आधारहीन भएको फैसला गरेको थियो जसलाई चीनले अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्