दसैँले राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समस्त नेपाली जनमा दसैँको शुभकामना दिएकी छन् । एक सन्देशमार्फत् उनले दसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मकरूपमा एक बनाएको बताएकी छन् ।
बडादसैँले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।
‘समाज तथा यातायात र सञ्चारको विकास एवं जीविकोपार्जनका माध्यममा आएको परिवर्तनका कारण मीठो खान, राम्रो लगाउन र आफन्तसँग भेटघाट गर्न अब दसैँको प्रतीक्षा गरिरहनु पर्दैन ।
तथापि देशविदेशमा छरिएका परिवारका सदस्यबीचको पुनर्मिलनका साथै मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिनेजस्ता मौलिक परम्पराले गर्दा बडादसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको छ’, पूर्वराष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख छ ।
असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने बडादसैँ पर्वको आर्थिक र सामाजिक पक्षसमेत उत्तिकै महत्त्वपूर्ण रहेको भन्दै उनले देश र परदेशमा रहेका परिवारका सदस्यहरू भेला भएर मान्यजनबाट टीका र जमरासहित आशीर्वाद लिने पर्वका रूपमा दसैँले हाम्रो असल सांस्कृतिक परम्परालाई निरन्तरता दिएको बताएकी छन् ।
‘दुर्गा भगवतीको उपासना तथा मातृशक्तिको आराधना यस पर्वको अर्को विशिष्ट पक्ष हो, जसले हाम्रो प्रकृतिपूजक समुदायमा विद्यमान मातृशक्तिको प्रमुखतालाई अभिव्यक्त गर्दछ ।
दसैँले यसरी हाम्रो समाजका अधिकांश वैशिष्ट्यलाई समेटेको छ’, भण्डारीले भनेकी छन् ।
प्रकाशित मिति: ५ कार्तिक २०८०, आइतबार