सरकारले खुला गर्यो मरिच, केराउ र सुपारीको आयात
काठमाडौं । सरकारले औद्योगिक प्रयोजनका लागि मरिच, केराउ र सुपारीको आयात खुुला गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ का लागि यी वस्तुको आयात खुला गरेको हो ।
उद्योगको कच्चा पदार्थको रुपमा यी तीन प्रकारका वस्तुको आयातको कार्यविधि २०७८ को प्रक्रिया पूरा गरेर आयातको अनुमति दिएको राजपत्रको सूचनामा उल्लेख छ ।
पौष्टिक आहार उत्पादन गर्ने डाबर नेपाल, चाउचाउ उत्पादक चौधरी ग्रुप र मसला उत्पादन गर्ने कम्पनी सेञ्चुरीले यी वस्तुको आयात फुकुवाका लागि आग्रह गरेका थिए ।
नयाँ आर्थिक वर्ष सुरुहुने बित्तिक्कै यी वस्तुको आयात फुकुवा नगरिँदा उत्पादन प्रभावित चाउचाउ, मसला र गुट्खा उद्योगहरुले छिटो आयात खुलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
उद्योगको कच्चा पदार्थको रुपमा हार्मोनाइज्ड कोड ०७१३१००० को केराउ, हार्मोनी कोड ०८०२८००० को सुपारी र हार्मोनी कोड ०९०४११२० र ०९०४११३० को सेतो र कालो मरिच आयातका लागि मन्त्रालयले अनुमति दिएको हो ।
प्रकाशित मिति: ५ कार्तिक २०८०, आइतबार