कोशीमा राप्रपाका नेता सिटौलाले मागे विपक्षी दलका नेताले पाउने सुविधा


 


विराटनगर, कार्तिक ३ । कोशी प्रदेशमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा मागेका छन् ।

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदा राप्रपाले विपक्षमा मतदान गरेको थियो । बुधबार विपक्षमा मतदान गरेका संसदीय दलका नेता सिटौलाले बिहीबार प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका हुन् ।

बुधबार प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा मुख्यमन्त्री केदार कार्कीको पक्षमा ८६ मत खसेको थियो भने विपक्षामा पाँच मत परेको थियो ।

नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक जना सांसदले पक्षमा मतदान गरेका थिए । राप्रपाका ६ सांसदमध्ये पाँच जनाले विपक्षमा मतदान गरेका थिए भने एक जना अनुपस्थित रहे ।

९३ प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा राप्रपा बाहेकका सबै दल सत्तापक्षमा छन् ।

प्रदेशसभाले पास गरेको प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा प्रमुख प्रतिपक्षी दलको नेताले मासिक ५९ हजार रुपैयाँ पारिश्रमिक पाउने उल्लेख छ ।

त्यसबाहेक बैठक भत्ता एक हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा २१ हजार, फर्निचर सुविधा बापत एकमुष्ट २० हजार, एउटा सवारी साधन, मासिक १२५ लिटर पेट्रोल, विजुली सुविधा बापत मासिक एक हजार पाँच सय र दैनिक दुई हजार भ्रमणभत्ता प्राप्त गर्ने उल्लेख छ ।

त्यस्तै एक जना स्वकीय सचिव, एक जना सवारी चालक र अतिथि सत्कार बापत मासिक पाँच हजार सुविधा प्रमुख प्रतिपक्षी दलको नेताले पाउँछन् । सुरक्षा जोखिमको अवस्था रहे एक जना पीएसओ पनि पाउँछन् ।

प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्