हङकङबाट नेपालले पायो ९५ रनको सामान्य लक्ष्य


 


काठमाडौं, कार्तिक २ । टि२०आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले हङकङबाट ९५ रनको सामान्य लक्ष्य पाएको छ ।

नेपालका तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनले हङकङ ९४ रनमा समेटिएपछि नेपालले सामान्य लक्ष्य प्राप्त गरेको हो ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको हो ।

पहिलो बलमै कप्तानलाई गुमाएको हङकङ त्यसपछि लगातार विकेट खस्दा सामान्य स्कोरमा सिमित हुन पुग्यो ।

हङकङका लागि मध्यक्रमका यासिम मुर्तजाले ३६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए ।

नेपालका लागि करण केसीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । उनलाई अभिनाश बोहराले २ तथा सोमपाल कामी, कुशल मल्ल र श्याम ढकालले १÷१ विकेट लिँदै साथ दिए ।

त्यसअघि इनिङको पहिलो बलमै करणको इनस्वींग बलमा कप्तान निजाकत बोल्ड भएका थिए । त्यसपछि तीव्र गतिका बलरले लगातार विकेट लिएपछि शीर्षक्रम धराशायी बनेको थियो ।

चौथो ओभरको अन्तिम बलमा सोमपाल कामीले २ रन जोडेका मार्टिन कोट्जीलाई बोल्ड गरे ।

पाँचौ ओभरमा बाबर हायातले ठूलो सट खेल्दा कुशल भुर्तेलको हातबाट क्याच भए । करणको बलमा मिड अफमा कुशलले डाइभ दिँदै उत्कृष्ट क्याच गरे ।

एक समय ३३९५ को स्थितिमा रहेको हङकङलाई मुर्तजा र जिशान अलीले ३० रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याए । जिशानले २० बलमा २ चौकासहित १७ रन जोडे । उनी श्यामको राष्ट्रिय टोली करिअरको पहिलो शिकार बने ।

त्यसपछि तल्लोक्रमका ब्याट्सम्यान ठूलो सट खेल्ने क्रममा लगातार आउट हुँदा नेपालले सामान्य लक्ष्य पाएको हो । हङकङका ९ ब्याट्सम्यानले दोहोरो स्कोर जोड्न सकेनन् ।

नेपालले आजको खेलमा कुनैपनि खेलाडी परिवर्तन गरेको छैन । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।

प्रकाशित मिति: २ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्