स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यकाे सामूहिक राजीनामा
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई उनीहरूले राजीनामा बुझाएका हुन् ।
बोर्डमा कार्यवाहक कार्यकारी निर्देशक नियुक्त गरेको भोलिपल्ट बोर्डका मनोनित सदस्य डा. सुरेश तिवारी, डा. तारा साह, चन्द्र थापा, टीका चापागाईं भट्टराई र इन्द्रकला राईले राजीनामा दिएका हुन् ।
लामो समयदेखि बोर्ड अध्यक्ष नियुक्त नगरेको, बीमा कार्यक्रम गिजोल्न गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्बन गरेको, आवश्यक जनशक्ति व्यवस्थापन नगरेको भन्दै राजीनामा दिएको उनीहरुको भनाइ छ ।
मन्त्री बस्नेतले सोमबार मात्रै मन्त्रालयका गुणस्तर मापन महाशाखा प्रमुख डा. मदन उपाध्यायलाई कार्यवाहक कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।
प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार