नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण संघबीच सम्झौता
काठमाडौं, असोज २९ । पर्वतीय पर्यटनको दिगो विकास, विस्तार र प्रवद्र्धनमा आपसी समझदारी र सहकार्यका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबीच सम्झौता भएको छ ।
आज आयोजित एक कार्यक्रममा पर्वतीय पर्यटनका लागि जनशक्ति विकास, तालिम एवं प्रशिक्षण लगायतमा सहकार्यका लागि दुई संस्थाबीच सम्झौता भएको हो ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष उङदी छिरिङ र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले पाँचबुँदे आपसी समझदारीपत्रमा हस्ताक्षर गरे ।
दुवै पक्षको समन्वय एवम् साझेदारीमा तालिमलगायत कार्यक्रमहरु सञ्चालन गर्ने समझदारी भएको छ । यसैगरी, संयुक्त रुपमा सञ्चालन गरिने तालिम कार्यक्रममा लागत साझेदारी गर्ने र दुवै पक्षले प्रमाणीकरण गर्ने सहमति भएको छ ।
प्रतिष्ठानका अध्यक्ष दावा शेर्पाले सम्झौताले दुवै संस्थालाई बलियो बनाउँदै समग्र पर्वतीय पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।
सङघका अध्यक्ष नुरु शेर्पाले प्रतिष्ठानले सैद्धान्तिक र सङ्घले त्यसको प्रयोगात्मक अभ्यासमा दोहोरोपन नहुने गरी काम गर्ने विश्वास व्यक्त गरे ।
सङ्घले तालिम सञ्चालन गर्दा प्रतिष्ठानको शैक्षिक कार्यक्रममा संलग्न विद्यार्थीलाई २० प्रतिशत कोटा सुरक्षित गर्ने सहमति भएको छ ।
यस्तै, सङ्घले प्रतिष्ठानबाट सञ्चालन भइरहेका स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीलाई हरेक शैक्षिक सत्रमा कम्तीमा एकरएकजनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने सहमति भएको छ ।
यो सम्झौता पाँच वर्षसम्म कायम रहने बताइएको छ ।
प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार