दसैँको दोस्रो दिन आज, ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौं । हिन्दु नेपालीको महान चाड बडादसैँको आज दोस्रो दिन । देवीमन्दिर तथा शक्तिपीठहरूमा माता भगवती ब्रह्मचारिणीको पूजा गरी मनाइँदै छ ।
ब्रह्मचारिणीदेवीलाई बह्म विद्या शक्तिकी माताको रुपमा पूजा गर्ने प्रचलन छ । आज पनि देवी मन्दिरहरूमा पूजा गर्नेको भीड लागेको छ ।
ब्रहमचारिणीदेवीको पूजा गर्नाले ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रमा उल्लेख छ । ब्रह्मचारिणीदेवीलाई भक्तिको प्रतीक मानिन्छ ।
देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।
प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार