किन एमालेले लियो परीक्षा ?


 


काठमाडौं, मंसिर २७

नेकपा एमाले चितवनले जिल्लास्तरमा पहिलोपटक पार्टी सदस्यता लिनका लागि परीक्षा सञ्चालन गरेको छ ।
चितवनको भरतपुरस्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कृष्ण खनालले परीक्षार्थीलाई प्रश्नपत्र दिएर परीक्षा सुरु गरेका हुन् । २०० जनाको परीक्षा लिइएको एमाले चितवनले जनाएको छ ।

सो क्रममा खनालले पार्टी सदस्यका लागि नेपालमै पहिलोपटक चितवनमा परीक्षा सुरु गरेको दाबी गर्दै परीक्षामा सामेल हुन नसकेकालाई क्षेत्र र इकाइमै परीक्षा दिने व्यवस्था गरिने बताए ।

तीन चरणमा भएको परीक्षाको पहिलो चरणमा १०० भन्दा बढी परीक्षार्थी सहभागी छन् । उनीहरुलाई १५ वटा वस्तुगत प्रश्न सोधिएको छ ।

६० पूर्णाङ्कको परीक्षा उत्तीर्ण गर्न कम्तीमा २० नम्बर ल्याउनुपर्ने एमाले चितवनकी सचिव दिलकुमारी रावलले बइन् ।
सो क्रममा विश्वमा सन् १८४८ मा कम्युनिष्ट पार्टीको घोषणापत्र जारी भएको र सन् १९१७ मा रुसमा कम्युनिष्ट राज्य स्थापना भएको जानकारी गराइएको थियो ।

यस्तै सन् १९२० मा पहिलोपटक महिलाले भोट हाल्न पाएको, सन् १९४१ मा चीनमा पनि कम्युनिष्ट राज्य आएको र नेपालमा विसं २००६ मा कोलकत्तामा बसेर पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

एमाले चितवनका अनुसार परीक्षामा सामेल हुन चितवनमा एक हजार ४०० जनाको निवेदन परेको छ ।

प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्