कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताबाट उद्धव थापाले दिए राजीनामा


 


विराटनगर । सत्ता गठबन्धनले नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री भएका केदार कार्कीलाई समर्थन गरेपछि नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेताबाट उद्धव थापाले राजीनामा दिएका छन् ।

थापा यसअघि दुई पटक मुख्यमन्त्री भए पनि अदालतको फैसलापछि उनको पद गएको थियो । ‘अहिलेको सरकार निर्माणमा भएका सबै कुरा नियाल्दा म पनि कारक रहेछु भन्ने लाग्यो, त्यसैले नैतिकताका आधारमा राजीनामा दिएको छु,’ थापाले पत्रकार सम्मेलन गरेर भनेका छन्।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाको पक्षबाट कार्की आजै मुख्यमन्त्री नियुक्त भएका हुन् । थापा पनि मुख्यमन्त्रीको आकांक्षी थिए। तर, गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई उम्मेदवारमा प्रस्ताव गरेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र कोइरालाबीच कार्कीलाई नै मुख्यमन्त्री मान्ने सहमति भएको थियो।

एमालेको साथ लिएर कार्कीलाई मुख्यमन्त्री बनाएका कोइरालाले गठबन्धन बलियो बनाउने प्रतिवद्धता बालुवाटारमा जनाएका छन् ।

प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्