चिनियाँ अर्थतन्त्रमा समस्या बढ्दै, धनाढ्यहरु सुटुक्क लैजाँदैछन् आफ्नो सम्पत्ति बाहिर


 


एजेन्सी । रियल स्टेट क्षेत्रमा देखिएको मन्दीका कारण हाल चिनियाँ अर्थतन्त्रमा समस्या बढ्दै गएको छ । अर्थतन्त्र थप अनिश्चितता उन्मुख भएपछि चीनका धनाढ्य व्यक्तिहरुले अवैधानिक माध्यमको प्रयोग गरी बाह्य देशहरुमा लगानी विस्तार गरेको ब्लुमबर्गको ठहर छ ।

ब्लुमबर्गको प्रतिवेदनमा चिनियाँ नागरिकहरुले अनौपचारिक बैंकिङ माध्यम ‘हवाला’को प्रयोग गरी अर्बौं रकम बाहिर पठाएको उल्लेख छ । हाल रियल स्टेट क्षेत्रमा देखिएको निराशाका कारण चिनियाँ नागरिकहरु लगानी डुब्ने त्रासमा रहेका छन् । चिनियाँ अर्थतन्त्रमा रियल स्टेटको हिस्सा कुल ग्रास्थ उत्पादनको एक तिहाइ रहेको छ । इभरग्रान्डे, काउनटी गार्डेन लगायतका ठूला कम्पनीहरु धरासायी बन्दै जाँदा लगानीकर्ता थप निराश बन्दै गएका छन् । जसकारण चिनियाँ नागरिकहरुले आफ्नो लगानी सुरक्षित गर्नका लागि बाहिर लगानी गरिरहेका छन् ।

आफ्नो लगानी सुरक्षित गर्न मात्रै नभई चिनियाँ नागरिकहरुले भविष्यमा बाहिरी देशमा नै बसोबास गर्ने उद्देश्यका साथ बाहिरी देशहरुमा लगानी विस्तार गरिरहेका छन् । ब्लुमबर्गका अनुसार औपचारिक माध्यमको प्रयोग गरी चिनियाँ नागरिकहरुले वार्षिक रुपमा ५० हजार डलर बाहिरी देशमा लगानी गर्न पाउने प्रावधान छ ।

तथापि सन् २०२१ मा चीनबाट ७५ अर्ब युवान चीन बाहिरका पाँच संस्था र आठ हजार बढी बैंकहरुमा जम्मा गरिएको तथ्य बाहिर आएको छ । चीनमा अनौपचारिक माध्यममार्फत बाह्य देशहरुमा लगानी विस्तार गर्ने अन्डरग्राउन्ड बैंकहरुमा अर्बौं अर्ब रकम जम्मा भएको बेलायतको नेशनल क्राइम एजेन्सीले जनाएको छ ।

चीनमा अनौपचारिक माध्यम मार्फत कारोबार गर्ने मानिसहरुलाई कारोबार रकमको ३० प्रतिशत बढी जरिवाना र कारोबारको रकम हेरी जेल सजाय हुने प्रावधान छ । नियमहरु कडाइ मार्फत लागु गरेतापनि मानिसहरुले बाहिरी देशहरुमा लगानी विस्तार गरिरहेका छन् ।

युनियन बैंक अफ स्वीजरल्यान्ड (युबीएस)ले सार्वजनिक गरेको तथ्यांक अनुसार ६२ लाख चिनियाँ नागरिकहरुले पछिल्लो एक वर्षमा प्रति व्यक्ति १० लाख अमेरिकी डलरभन्दा धेरै रकम देशबाहिर पठाएका छन् ।

यसरी विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा समेत लगानीकर्ताहरुले आफ्नो जम्मापुँजी तथा लगानीको सुरक्षा प्रत्याभूत गर्न नसक्दा अबौँ रुपैयाँ चीनबाट वर्षेनी बाहिरीरहेको छ । सन् २०२२ मा चीनबाट १५० अर्ब डलर बाहिरीने ब्लुमबर्गको अनुमान छ ।

प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्