१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा


 


झापा । कोसी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको छ ।

चार वर्षअघि रु ७९ करोड ८० लाखको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल निर्माण गरिएका टेबुलमा प्यानल राख्ने काम धमाधम भइरहेको झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताए । उनका अनुसार पहिलो चरणमा १० कन्टेनर सोलार प्यालन जडान हुनेछ ।

झिलभिले चोकबाट करिब ७ किलोमित्तर उत्तरमा २२ बिघा जमिनमा २२ हजार ६०० सोलार प्यानल जडान गरिने उनले जानकारी दिए । परियोजनामा पिलर र राफ्टर लगाउने कार्य डेढ महिनाअघि नै सकिएको छ । जसमा ३५ कन्टेनर सोलार प्लानल जडान हुनेछ ।

“यो नेपालकै ठूलो परियोजना हो, अब दुई महिनाभित्रमा सञ्चालन गर्ने तयारी छ”, निर्देशक भट्टराईले भने, “अब धमाधम प्यानल जडान गर्ने काम मात्र हो । चाँडै सक्छौँ ।” सो परियोजना निर्माणका लागि माछापुच्छ्रे बैंकले रु ३५ करोड र सिभिल बैंकले रु २५ करोड गरी रु ६० करोड बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा रु २० करोड शेयरदाताबाट लगानी गरिएको उनको भनाइ छ । उनले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताए ।

विर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताइन् । उनले परियोजनालाई सोलार टुरिजमको रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिइन् । रासस

प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्