लोकसेवाले खोलेका विज्ञापनमा दर्खास्त नै परेन


 


काठमाडौं, मंसिर २७
देशमा बेरोजगारीको समस्याले विदेशिने युवाको सङ्ख्या बढ्दो छ तर लोक सेवा आयोगले १२६ वटा विज्ञापनबाट १७२ पदका लागि गरेको विज्ञापनमा एउटै दरखास्त परेन ।

आर्थिक वर्ष २०७२र७३ का लागि गरिएको विज्ञापनमा खुला, आन्तरिक, समावेशी सबैमा दरखास्त नपरेको जानकारी आयोगले दिएको छ। दलित, अपाङ्ग, महिला, मधेसी, जनजातिका लागि समावेशीतर्फ छुट्टाइएका पदहरूमा समेत दरखास्त परेनन् ।

आयोगले लिएको परीक्षामा अन्तर्वार्तामा छनोट भएका ५५ पदमध्ये २० पदमा कुनै उम्मेदवारको सिफारिस हुन सकेन । यस्तै, १० वटा विज्ञापनबाट २६ पदका लागि दरखास्त परी लिखित परीक्षा सञ्चालन भएकोमा कुनै पनि उम्मेदवार परीक्षा दिन आएनन् ।

आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले कुल १२६ वटा विज्ञापनबाट १७२ पदका लागि दरखास्त आह्वान गरिएकोमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको बताए। कोइरालाले भने, ‘दरखास्त नपर्नुको मुख्य कारणमा सम्बन्धित पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता नपुग्नु, तल्लो तहमा कार्यरत कर्मचारीको माथिल्लो पदमा दरखास्त दिने अवधि नपुग्नु, सम्बन्धित पदका लागि अनुभव नहुनु र यस्ता जनशक्ति बाहिर कतै व्यस्त रहनुले पनि दरखास्त नपरेको हो। ’
आयोगको सूचना तथा प्रकाशन शाखाका शाखा अधिकृत नारायण पोखरेलले शैक्षिक योग्यता तोक्ने, सेवा समूह सञ्चालन गर्ने कार्य सम्बन्धित मन्त्रालयले हो, सेवा प्रवेश गरेकाले आफ्नो योग्यता वृद्धि गर्न नसक्नु पनि दरखास्त नपर्नुको कारण भएको बताए।

आयोगका अनुसार, दरखास्त नपरेका पदहरूमा नेपाल स्वास्थ्य सेवातर्फ ११ औँ तह तथा राजपत्राङ्कित तृतीय श्रेणीतर्फ नेपाल इन्जिनियरिङ सेवाका पदहरू धेरै छन्। राजपत्र अनङ्कित द्वितीय श्रेणीअन्तर्गत अमिन, सहायक महिला विकास निरीक्षक, फरेस्टरलगायत सबै पदमा निकटतम तल्लो पदमा कुनै उम्मेदवार नहुने कारणले आन्तरिक प्रतियोगितातर्फबाट पूर्ति हुने पदहरूमा कुनै दरखास्त नपरेको हो । आजको गोरखापत्रमा सामाचार छ ।

प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्