कोशीमा शेखर समूहको विद्रोह, एमालेको साथ
काठमाडौं, असोज २५ । कोशी प्रदेशमा नेपाली कांग्रेसको शेखर समूहले विद्रोह गर्दै एमालेको साथ लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेको छ ।
मुख्यमन्त्री माओवादीलाई छाड्ने सभापति शेरबहादुर देउवाको निर्णयसँगै संस्थापनइतर पक्षले एमालेको साथ लिएर समानान्तर रुपमा दाबी पेश गरेको हो ।
हाल प्रदेशसभामा कांग्रेसका २९ सीटमध्ये शेखर–गगन समूहका १० जना सांसद छन् । एमालेको साथ पाएपछि अहिले शेखर कोइराला समूहका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
उपसभामुख बाहेक एमालेका ३९ सांसद रहेको एमालेले साथ दिँदा कोइराला पक्षका ८ जनाले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।
संस्थापन पक्षका १० मध्ये दुई सांसदले भने हस्ताक्षर गरेका छैनन् । जसमा महामन्त्री गगन थापा पक्षका मानिने भोजपूर (ख) बाट निर्वाचित सांसद विनोद वान्तवा र मोरङ २ (ख) का सांसद गयानन्द मण्डलले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।
९२ सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ४७ सांसदको समर्थन आवश्यक छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार एउटै पार्टीका सांसदले स्वविवेकले कुनै सांसदलाई मुख्यमन्त्रीमा समर्थन गर्नसक्ने प्रावधान छ ।
प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार