एमाले मधेश प्रदेशको अधिवेशन सुरु
जनकपुरधाम, असोज २४ । नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन जनकपुरधाममा सुरु भएको छ ।
जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा सुरु भएको अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
अधिवेशन उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित शीर्ष नेताहरु सहभागी भएका छन् । अधिवेशनले २३५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।
जसको लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।
एमालेको मधेश प्रदेश अध्यक्षका लागि धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, सिराहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, संविधान सभा सदस्य पर्साका विचारी यादव, धनुषाका पूर्व जिल्ला सचिव लक्ष्मीनारायण यादव लगायत आकांक्षी देखिएका छन् ।
सकेसम्म सहमति प्रक्रियाबाटै समिति चयन गर्ने प्रयासमा रहेको मधेश प्रदेश इन्चार्ज समेत रहेका एमालेका सचिव योगेश भट्टराईले बताए ।
प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार