पदक जितेर आएका खेलाडीको विमानस्थलमा भव्य स्वागत
काठमाडौं, असोज २३ । चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा पदक जितेर आउने खेलाडीलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेपका पदाधिकारीसहित खेलकर्मीलगायतले एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई स्वागत गरेका हुन् ।
विमानस्थलमा स्वागत गरेपछि खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले विशेष स्कर्टिङसहित राखेप कार्यालय लगेको थियो ।
मंगलबार नगर परिक्रमा गराइने कार्यक्रम रहेपनि इजरायलमा १० नेपालीको मृत्युका कारण राष्ट्रिय शोक घोषणा गरिएपछि स्थगित गरिएको छ । खेलाडीहरुका लागि राखेपमा सम्मान कार्यक्रम मात्रै राखियो ।
१९औँ एसियाली खेलकुद प्रतियोगितामा कराँते खेलाडी एरिका गुरुङले महिला कुमुते ६८ केजीभन्दा माथिको तौलसमूहमा रजत पदक जितेकी थिइन् ।
यसैगरी १९औँ एसियाली खेलकुदमा महिला कबड्डी टोलीले पनि कांस्य पदक जितेको छ । महिला कबड्डी टोली एसियाली खेलकुदको पहिलो सहभागितामै कांस्य पदक जितेको हो ।
प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार