शिक्षक छनोट खुला प्रतिस्पर्धाबाट हुनुपर्दछ : नेविसंघ


 


काठमाडौं, असोज २२ । नेपाल विद्यार्थी संघले सबै तहका शिक्षक छनोट शतप्रतिशत खुला प्रतिस्पर्धाबाट गर्न माग गरेको छ ।

संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयक माथि आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा संघले यस्तो माग अघि सारेको हो । संघले विद्यालयहरूले शुल्क लिन पाउने व्यवस्था संविधानको व्यवस्थासँग बाझिएको जनाएको छ ।

शिक्षा विधेयक शिक्षा ऐन २०२८ सँग तुलनात्मक रुपमा प्रगतिशील देखिए पनि अपूर्ण रहेको संघका अध्यक्ष दुजाङ शेर्पाले बताए ।

प्रारम्भिक बालविकास केन्द्र विद्यालय शिक्षा अन्तरगत रहनुपर्ने संघको राय छ । स्थानीय, प्रदेश र संघीय सरकारले आफ्नो कूल बजेटको २० प्रतिशत अनिवार्य रुपमा सार्वजनिक शिक्षामा विनियोजन गर्नुपर्ने नेविसंघले जनाएको छ ।

‘राज्य कोषबाट पारिश्रमिक ः सेवा सुविधा लिने सबै व्यक्तिका सन्तान सार्वजनिक विद्यालयमा पढाउनु पर्ने र उक्त व्यक्तिहरूले प्राप्त गर्ने विभूषण, बढुवा वा अन्य कुनै सम्मान वा उपाधि प्राप्त गर्नु अघि उक्त व्यक्तिले सार्वजनिक विद्यालय शिक्षा प्रति सामाजिक दायित्व बहन गरेको छ वा छैन भन्ने समेत मूल्यांकन गर्नु पर्ने हाम्रो निष्कर्ष छ,’ विज्ञप्तिमा भनिएको छ ।

आधारभूत तहको परीक्षा स्थानीय सरकारले सञ्चालन गर्ने, माध्यमिक तह अन्तर्गत कक्षा १० को परीक्षा प्रदेश सरकारले सञ्चालन गर्ने र माध्यमिक तह अन्तर्गत कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोडले सञ्चालन एवं मूल्यांकनको व्यवस्था गरिनुपर्ने नेविसंघको राय छ ।

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्