इजरायलबाट नेपालीलाई सरकारले ल्याउने, अनलाइनबाट विवरण संकलन गरिँदै
काठमाडौं, असाेज २२
नेपाल सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गर्ने भएको छ । इजरालयस्थित नेपाली दूतावासका अनुसार त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गर्न लागिएको हो ।
नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि छिट्टै अनलाइन दर्ताको व्यवस्था गरिने विज्ञप्तिमा जनाइएको छ ।
शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु थियो । यस्तै ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र एक सम्पर्कविहीन छन् । मृतक १० जनाको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको पनि दूतावासले जनाएको छ ।
दूतावासले इजरायलमा रहेका सबै नेपालीलाई धैर्य र संयम अपनाउन समेत आग्रह गरेको छ।
प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार