एसियाली खेलकुद : ३३७ पदकसहित चीन शीर्षमा, नेपाललाई एक कास्य
हान्झाउ, असोज २० । छिमेकी राष्ट्र चीनको हान्झाउमा भइरहेको १९औं एसियाली खेलकुदमा आयोजक चीन ३३७ पदकसहित शीर्ष स्थानमा छ ।
त्यस्तै अर्को छिमेकी देश भारतले एक सय पदक जितेको छ । भारतले यति धेरै पदक जितेको इतिहासमै पहिलो पटक हो । नेपालले भने बल्ल एक कांस्य पदक प्राप्त गरेको छ ।
१९औं एसियाली सकिन अब दुई दिन बाँकी हुँदा अहिलेसम्म ४५ मध्ये ४१ राष्ट्रले पदक जितेका छन् । जसमा आयोजक चीन १८८ स्वर्ण १०५ रजत र ६४ कांस्यसहित कुल ३३७ पदक जितेर शीर्ष स्थानमा छ ।
जापान ४७ स्वर्ण, ५७ रजत र ६५ कांस्यसहित १६९ पदक जितेर दोस्रो तथा दक्षिण कोरिया ३७ स्वर्ण ५१ रजत र ८६ कांस्यसहित १७४ पदक जितेर तेस्रो स्थानमा छ ।
भारत २५ स्वर्ण ३५ रजत र ४० कांस्य गरी १०० पदक जित्दै पदक तालिकामा चौथो स्थानमा छ ।
नेपालले भने एसियाडको अन्त्यतिर आइपुग्दा शुक्रबार महिला कबड्डीमा कांस्य पदक जितेको हो । नेपालले २९ खेलमा २५३ खेलाडी सहभागी गराउँदा पहिलो पटक एसियाड खेलेको महिला कबड्डी टिमले पदक जितेको हो ।
शनिबारै महिला कबड्डीको फाइनल खेल सकिएपछि पदक वितरण गरिएको हो । जहाँ भारतले स्वर्ण जित्दा चाइनिज ताइपेइले रजत तथा सेमिफाइनलमा पराजित नेपाल र इरानले कांस्य पदक प्राप्त गरेका हुन् ।
नेपालसहित बंगलादेश, कम्बोडिया, लेबनोन, प्यालेस्टाइन र सिरियाले समान एक/एक कांस्य जितेका छन् । प्रतियाेगिता आइतबार सकिँदैछ ।
प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार