एसियाड महिला भलिबल – मंगोलियामाथि नेपालको रोमाञ्चक जित


 


हाङ्गचौं, असोज २० । मंगोलियामाथि रोमाञ्चक जित निकाल्दै नेपाली राष्ट्रिय टोलीले १९औं एसियाली खेलकुद (एसियाड) को महिला भलिबलमा ११औं स्थान हासिल गरेको छ ।

शनिबार भएको क्लासिफिकेसन खेलमा मंगोलियामाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै नेपालले ११औं स्थान हासिल गरेको हो ।

डिक्विङ स्पोर्ट्स सेन्टर जिम्नासियममा शनिबार भएको खेलमा नेपालले पहिलो सेट १७–२५ ले गुमायो । त्यसपछि दोस्रो र तेस्रो सेट २५–१८, २५–२१ ले आफ्नो पक्षमा पारेपछि नेपाल जित नजिक पुगेको थियो । तर, चौथो सेट नेपालले १८–२५ गुमाएपछि खेल पाँचौं सेटमा लम्बियो ।

निर्णायक तथा पाँचौ सेटमा एक समय ४–७ ले पछि रहेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई १५–१२ ले जित्न सफल भयो । एसियाली खेलकुदमा नेपाली महिला टोलीको यो पहिलो जित हो । यसअघि नेपालले खेलेको सबै चार खेलमा हार भोगेको थियो ।

समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग समान ३–० को सोझो सेटमा पराजित हुँदा नवौं देखि १२औं स्थानको प्ले अफमा भारतसँग ३–१ को सेटमा तथा हङकङसँग ३–० को सेटमा पराजित भएको थियो ।

एसियाडको भलिबलमा नेपाली महिला टोलीले पहिलो पटक सहभागिता जनाएको हो । एसियाड महिला भलिबलमा अफगानिस्तान पुछार (१३औं) भएको छ । चीन र जापानले स्वर्णका लागि प्रतिस्पर्धा गर्दा आज नै भियतनाम र थाइल्यान्डले तेस्रो स्थानको लागि खेल्दैछ ।

प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्