चीन–फिलिपिन्स विवाद सतहमा


 


एजेन्सी । फिलिपिन्सले चीनमाथि साउथ–चाइना सीको विवादित क्षेत्रमा अवरोध खडा गरेको आरोप लगाएको छ । उक्त अवरोधलाई फिलिपिनोहरूले आफ्नो विशेष आर्थिक क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाइएको रूपमा बुझेका छन् । फिलिपिन्सले चीनको उक्त कदमको कडा शब्दमा निन्दा पनि गरेको छ ।

फिलिपिन्सको तटीय सुरक्षा र मत्स्य पालन तथा जलीय संसाधन विभागले चीनको यस अवरोधले फिलिपिनोहरूलाई माछा मार्ने र जीविकोपार्जन गर्नबाट वञ्चित गरेको भन्दै आपत्ति जनाएको हो । विभागका प्रवक्ता जय तारिएलाले आइतबार सामाजिक सञ्जाल एक्समार्फत चिनियाँ कदमको विरोध जनाएका छन् । फिलिपिनो अधिकारीहरूका अनुसार चीनले झन्डै ३ सय मिटर जल क्षेत्रमा अवरोध गरेको छ । जुन कुरा नियमित समुद्री गस्तीका क्रममा पत्ता लगाइएको तारिएलाले उल्लेख गरेका छन् ।

माछा मार्ने क्रममा फिलिपिनोहरूलाई चार चिनियाँ तटरक्षक पानीजहाजले भगाउने प्रयासस्वरूप १५ वटा रेडियो चुनौती खडा गरेको तारिएलाले एक्स पोस्टमा उल्लेख गरेका छन् । ‘फिलिपिन्स तटरक्षकले ती चुनौती सम्बोधन गर्न, आफ्नो सामुद्रिक अधिकार कायम राख्न र सामुद्रिक क्षेत्रहरूको रक्षा गर्न निरन्तर रूपमा सबै सम्बन्धित सरकारी एजेन्सीहरूसँग मिलेर काम गर्नेछन्,’ तारिएलाको पोस्टमा भनिएको छ । साउथ–चाइना सीको विवादित टापु फिलिपिन्सको ३ सय ७० किमिभित्र पर्छ । जुन अन्तर्राष्ट्रिय समुद्री कानुनद्वारा परिभाषित गरी हेगको अन्तर्राष्ट्रिय अदालतबाट पुष्टि गरिएको छ ।

यद्यपि चीनले यस क्षेत्रलाई हुआङयान टापुका रूपमा आफ्नो भूभागको एक अंश भएको दाबी गर्दै आएको छ । पछिल्लो कदमबारे मनिलास्थित चिनियाँ दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन । विवादित क्षेत्रमा गैरकानुनी घुसपैठ, पानीको फोहोरा तथा खतरनाक डुंगा चलाएको विषयलाई लिएर पछिल्लो केही सातायता फिलिपिन्स र चीन आरोप–प्रत्यारोपमा उत्रिएका हुन् ।

यसैबीच, दुई दिनअघि मात्रै फिलिपिन्सले दक्षिण चीन सागरमा दाबी गरेको रिमोट आउटपोस्टमा सामग्रीहरू पठाएको जनाएको थियो । त्यसले चीनको अवरोध गर्ने र आपूर्तिमा रोक लगाउने प्रयास असफल भएको पनि फिलिपिन्सले दाबी गरेको थियो । दुई साताअघि फिलिपिन्सको आपूर्ति मिसनमा चिनियाँ पानीजहाजबाट पानीको फोहोरा फ्याँकेको थियो । जसका कारण फिलिपिनो फौजलाई विवादित टापुमा पुग्नबाट चीनले रोकेको थियो ।

चीनले साउथ–चाइना सीको लगभग सबै क्षेत्र आफ्नो दाबी गर्दै आए पनि कतिपय भागमा फिलिपिन्सको दाबी रहँदै आएको छ । जसकारण दुई छिमेकी देश चीन र फिलिपिन्सबीच विवाद बढिरहेको छ । सागरको कतिपय भागमा भने भियतनाम, मलेसिया, ब्रुनाई र ताइवानको पनि दाबी रहँदै आएको छ । यसले गर्दा पनि शक्तिशाली मुलुक चीनसँग उसका छिमेकी देशहरू पटक–पटक क्रुद्ध हुने गरेका छन् । उक्त क्षेत्र भएर हरेक वर्ष विश्वव्यापी व्यापारको झन्डै ३.३७ ट्रिलियन अमेरिकी डलर वा २१ प्रतिशत व्यापार हुने गर्छ ।

दुई ठूला अर्थतन्त्र भएका देश अमेरिका र चीनबीच हुने विवादको एक प्रमुख मुद्दा पनि यही क्षेत्रबाट हुने व्यापारलाई मानिएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना आफ्नो पछिल्लो भियतनाम भ्रमणका क्रममा हतियार सम्झौता गरेका थिए । यद्यपि, ऐतिहासिक मानिएको उक्त सम्झौता अझै प्रारम्भिक चरणमै छ ।

तर साउथ–चाइना सीमा चीनको तनाव झेलिरहेको भियतनामसँग अमेरिकी एफ १६ लडाकु विमानहरूको खरिद सम्झौताले चीनलाई उक्साउन सक्ने विश्लेषकहरू बताउँछन् । गत महिना भारत भ्रमणपछि भियतनाम पुगेका बाइडेनको वार्ता पनि उक्त हतियार सम्झौतामाथि नै केन्द्रित थियो ।

अमेरिका–भियतनाम हतियार सम्झौताबाट भियतनामको ठूलो छिमेकी चीन सबैभन्दा बढी रुष्ट हुन सक्ने देखिन्छ । साउथ–चाइना सीमा देशहरूको विवाद सदियौंदेखिको हो । पछिल्लो केही वर्षयता भने तनाव बढ्दो क्रममा छ । विशेष गरी चीनको दाबीलाई लिएर उसका छिमेकी देशहरू भियतनाम, फिलिपिन्स, ताइवान, मलेसिया र ब्रुनाई रुष्ट हुने गरेका छन् ।

प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्