पाकिस्तानमा प्रहरीले नै भत्कायो अहमदिया मुसलमानको प्रार्थानास्थल


 


एजेन्सी । पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया सम्प्रदायका मुसलमानको प्रार्थानास्थलमा प्रहरीले तोडफोड गरेको घटना सार्वजनिक भएको छ ।

पाकिस्तानको लाहोर सहरस्थित शेइखुपुरा जिल्लामा प्रहरीले नै अहमदिया सम्प्रदायका मुसलमानले प्रार्थाना गर्ने तीन स्थानमा तोडफोड गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

डन अखबारलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार शेइखुपुरा जिल्लाको किर्तो, नानो दोगर र बेदादपुर विक्रनमा रहेका अहमदिया प्रार्थानास्थलमा तोडफोडको घटना भएको हो ।

तोडफोडका कारण ती प्रार्थानास्थलको मिनारमा क्षति पुगेको एएनआईले जनाएको छ ।

यसअघि पनि पाकिस्तानका विभिन्न सहरहरुमा अहमदिया सम्प्रदायका मुसलमानको प्रार्थानास्थलमा तोडफोड भएको समाचार सार्वजनिक भएको थियो । शेइखुपुरा जिल्लाका अहमदियाहरुले जिल्ला प्रहरीले आफूहरुको प्रार्थानास्थल भत्काइदिएको र आवश्यक सुरक्षा प्रदान गर्न असफल भएको आरोप लगाएका छन् ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता पाकिस्तानमा अहमदियाहरुको करिब १५० चिहान भत्काइएको जनाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्