भारतीय राजदूतकाे दबाबमा मधेशी माेर्चा संविधान संशाेधनकाे पक्षमा


 


काठमाडाैं, मंसिर २५

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावलाई स्वीकार गरेको छ । शनिबार बसेको मोर्चाको बैठकले संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई स्वीकार्ने निष्कर्ष निकालेको छ।

‘संशोधन प्रस्ताव आपसी सहमतिमा परिमार्जन गरेको अवस्थामा स्वीकार गर्ने’ उसकाे निर्णय छ। तर के विषय परिमार्जन गर्ने भन्ने विषय खुलाएको छैन।

यसअघि बसेको मोर्चाको बैठकले सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको थियो। संशोधन प्रस्ताव अपुरो भन्दै प्रस्तावले आफूहरुको माग सम्बोधन नहुने मोर्चाले ठहर सुनाएको थियो।

जसको माग पूरा गर्न सरकारले प्रस्ताव ल्याएको हो त्यसले नै प्रस्तावलाई अस्विकार गरेपछि सरकार अप्ठेरोमा परेको थियो। संसदमा प्रस्ताव दर्ता भएकै दिनदेखि त्यसको विरोधमा विशेषगरी पाँच नम्बर प्रदेशमा विरोध प्रदर्शन जारी छ भने प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित विपक्षी दलहरुले लगातार संसद बैठक अबरुद्ध गर्दै आएका छन्।

बैठकले प्रधानमन्त्री पुष्कमल दाहालले संविधानको स्वीकार्यता बढाउन आफू प्रस्ताव परिमार्जन गर्न तयार रहेको भन्ने अभिव्यक्तिलाई सकारात्मक रुपमा लिँदै एमालेलाई फाइदा पुग्ने कुनै पनि गतिविधि नगर्ने निर्णयसमेत गरेको छ।

केही दिन अगाडि भारतीय राजदूत रणजित रायले मधेसी मोर्चाका नेताहरुलाई भारतीय दूतावास लैनचौर बोलाएर सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्न दबाब दिएका थिए भने गत बिहीबार मात्रै सद्भावना अध्यक्ष राजेन्द्र महतो दूतावास पुगेका थिए।

स्रोतका अनुसार भारतीय दबाब थेग्न नसकेपछि मोर्चाले संशोधन प्रस्तावका विषयमा केही लचिलो धारणा सार्वजनिक गरेको हो। मोर्चाले संशोधन प्रस्तावलाई स्पष्ट समर्थन नगरेपनि आफूहरुले विरोध गर्दा त्यसको फाइदा एमालेले लिने भन्दै परिमार्जनसहितको प्रस्तावलाई स्वीकार गर्ने निर्णयमा पुगेको मोर्चामा सम्बद्ध एक दलका अध्यक्षले बताए।

भारतीय राजदूतको दबाबमा यस्ताे छ मोर्चाको तयारी !

प्रकाशित मिति: २५ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्