११ किलो सुन प्रकरणमा काठमाडौंबाट थप एक चिनियाँ पक्राउ


 


काठमाडौं, असोज १७ । दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा प्रहरीले थप एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार दिउँसो एक काठमाडौं महानगरपालिका–१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी दावालाई पक्राउ गरेको हो ।

चीनको सिचुवान घर भई काठमाडौंमा बस्दै आएका उनलाई स्वयम्भूबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार सुन तस्करी गरेको घटनामा सुन अर्डर गर्नेदेखि ल्याउन लगाउने सम्मको भूमिका तासीले खेल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मंगलबार मात्रै सिआइबीको टोलीले काठमाडौंबाटै एक जना चिनियाँ नागरिकसहित ३ जनालाई पक्राउ गरेको थियो। त्यसअघि नै प्रहरीले दोलखाबाट ७ जनालाई पक्राउ गरेको थियो।

यस प्रकरणमा अहिलेसम्म ११ जना पक्राउ परेका छन्।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्