चिनियाँ फन्ड लिएको भन्दै न्युजक्लिकका पत्रकारको घरमा प्रहरीको छापा


 


एजेन्सी । समाचार पोर्टल न्युजक्लिकसँग जोडिएका पत्रकार र लेखकहरुको घरमा दिल्ली प्रहरीले छापा मारेको छ। राजधानी दिल्लीमा मंगलबार पत्रकारहरुको घरमा सर्च अपरेशन चलाएर पत्रकारहरुको मोबाइल तथा ल्यापटप जफत गरिएको छ।

समाचार एजेन्सी पीटीआईले एक जना सरकारी अधिकारीलाई उद्धृत गर्दै दिल्ली प्रहरीको विशेष सेलले एक नयाँ मामिला दर्ज गरेर जाँच सुरु गरेको जनाएको छ। केही समय पहिले नै यो समाचार पोर्टलले चीनबाट फन्डिङ लिएको आरोप लागेको थियो।

यद्यपि न्युजक्लिकका पत्रकारहरुले चीनबाट फन्डिङ लिएको विषय अस्वीकार गरेका छन्। आलोचकहरूले यो कदमलाई प्रेस स्वतन्त्रतामाथि जानाजानी गरिएको आक्रमण भएको बताएका छन्।

दिल्ली प्रहरीले न्युजक्लिकका सम्पादक प्रविर पुरकायस्थ, पत्रकार अभिसार शर्मा, अनिन्द्यो चक्रवर्ती र भाषा सिंह, लोकप्रिय व्यंग्यकार सञ्जय राजौरा र इतिहासकार सोहेल हाश्मीको घरमा छापा मारेको हो। केहीलाई सोधपुछका लागि प्रहरी चौकी लगिएको छ।

प्रहरीले छापा मार्ने विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। तर अभिसार शर्मा एक्स (पहिले ट्विटर) मा घटनाको पुष्टि गर्दै प्रहरीले आफ्नो फोन र ल्यापटप खोसेको बताएका छन्। सुश्री सिंहले पनि प्रहरीले आफ्नो फोन जफत गरेको लेखेकी छन्।

वेबसाइटको दिल्लीस्थित कार्यालयमा पनि खोजी भइरहेको समाचार एजेन्सी एएनआईले जनाएको छ।

न्यूयोर्क टाइम्सको एक रिपोर्टले न्युजक्लिकले ‘चिनियाँ प्रोपोगाण्डा फैलाउन’ एक जना अमेरिकी करोडपतिबाट रकम प्राप्त गरेको विषय सार्वजनिक गरेपछि गत अगस्टमा न्यूजक्लिकविरुद्ध अनुसन्धान थालिएको बताइएको छ।

उक्त छापाबारे प्रतिक्रिया दिँदै भारतका केन्द्रीय मन्त्री अनुराग ठाकुरले गलत गर्नेहरुमाथि जाँच हुनु स्वभाविक भएको बताएका छन्। ‘मैले स्पष्टीकरण दिनु आवश्यक छैन। यदि कसैले गल्ती गरेको छ भने उसमाथि जाँच एजेन्सीले काम गर्छन्,’ ठाकुरले भने।

प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्