विद्यालय शिक्षा विधेयकमा गाउँपालिका महासंघ र नगरपालिका संघको पनि असन्तुष्टि
काठमाडौं, असोज १६ । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकप्रति गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघले पनि असन्तुष्टि जनाएको छ ।
महासंघ र संघले उक्त विधेयक संशोधन गर्न माग राखेको छ। सांसदहरूसँग छलफल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दुवै संगठनले विधेयकमा संशोधन गर्नुपर्ने बुँदासमेत बुझाइसकेका छन्।
शिक्षा विधेयकमा संशोधन गर्ने विषयमा सांसदहरूलाई ध्यानाकर्षण गराइएको महासंघ र संघले जनाएको छ।
उनीहरूले शिक्षा विधेयकमा १७ वटा दफामा संशोधन गर्नुपर्ने र पाँच वटा विषय हटाउन माग गरेका छन्।
नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले शिक्षा विधेयक संघीयता र संविधानको मर्मविपरीत आएको बताए। उनले स्थानीय तहलाई माध्यामिक शिक्षासम्मको अधिकार संविधानले नै दिएको भन्दै विद्यालय शिक्षा विधेयक बनाउनु नै संविधानको खिलापमा रहेको बताए ।
उनीहरूले विद्यालय शिक्षाको मापदण्डसम्बन्धी विधेयक ल्याउन पनि सरकारसँग माग गरेका छन्।
प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार