बढ्दो युवा बेरोजगारी र कमजोर अर्थतन्त्रका बीच चिनियाँ नागरिकहरु भाग्यमा भर पर्दै


 


काठमाडौं । चीनमा ‘लट्री टिकट’ को बिक्री अगस्ट महिनामा ह्वात्तै बढेको छ । चीनमा पछिल्लो समय बढ्दो युवा बेरोजगारी र अर्थतन्त्रका निराशानक सूचकहरुकाबीच अगस्ट महिनामा यस वर्षकै सबैभन्दा धेरै लट्री टिकट बिक्री भएको समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ ।

देशभर लट्री टिकट बिक्री गत वर्षको अगस्ट महिनाको तुलनामा ५३.६% ले बढेर यस अगस्टमा ५२.९६ अर्ब युआन (७.२५ अर्ब डलर) बराबर पुगेको हो । चीनभरबाट जनवरीदेखि अगस्टसम्म कुल ३ खर्ब ७५.७६ अर्ब युआन बराबरको लट्री टिकटहरु बिक्री भएको छ । जुन अधिल्लो वर्षकोे सोही अवधिको तुलनामा ५१.६% बढी हो । देशको आर्थिक तथ्यांकहरु निराशाजनक भइरहेको अवस्थामा लट्री टिकटको बिक्री पनि ह्वात्तै बढेको हो ।

पछिल्लो समय चीनमा युवा बेरोजगारी दर बढ्दो मात्रामा रहेको छ । युवा बेरोजगारी दर जुन महिनामा इतिहासकै उच्च २१.३% पुगेको सरकारी तथ्यांकले देखाएको छ । विशेषगरी, १६ देखि २४ वर्ष बीचको उमेरका जागिर खोज्नेहरुको बेरोजगारी दरले नीति निर्माताहरुको विशेष ध्यान खिचेको छ । केही विश्लेषकहरुले हालैका महिनाहरुमा लट्री टिकटमा भएको तीव्र वृद्धिलाई युवाहरुको गहिरो आर्थिक संकटसँग लगेर जोडेका छन् ।

प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्