कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा
काठमाडौं, असाेज १४
राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
बोर्डले उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न क्यालेन्डर सार्वजनिक गरेको हो । सो क्यालेन्डर यो वर्षबाट लागू भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।
बोर्डका अध्यक्ष डा. शर्माले यो वर्षको कक्षा १० र १२ को परीक्षा कहिले हुने भन्ने विषयमा कौतूहतला हटाउन क्यालेन्डर सार्वजनिक गरेको जानकारी दिए। उनका अनुसार कक्षा १० को प्रश्नपत्र छपाइबाहेक सबै अधिकार प्रदेश सरकारलाई दिने गरी क्यालेन्डर तयार गरेको हो ।
बोर्डले चैत मसान्तसम्म प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने, जेठभित्र उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ ।
अध्यक्ष शर्माले कक्षा १० को वार्षिक परीक्षाको नतिजा असार दोस्रो साताभित्र गर्ने तालिका बनाएको जानकारी दिए । गत वर्षको एसईईको परीक्षाफल असार अन्तिम साता भएको थियो । नेपाल समाचारपत्र दैनिकबाट
प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार