‘केपी ओली कप राष्ट्रिय टी–२०’ क्रिकेट प्रतियोगिता हुने
कास्की, असोज १२ । पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मंसिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने भएको छ ।
प्रतियोगिता पोखरा रंगशालाको क्रिकेट मैदानमा मंसिर ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेश, विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार, र ‘म्यान अफ द म्याच’ले नगद रु पाँच हजार पुरस्कार पाउने छन् ।
संघीय राजधानीदेखि सात प्रदेशसम्मलाई समेटेर आयोजना गरिएको प्रतियोगिताबाट धेरै खेलाडी र खेलप्रेमी लाभान्वित भएको अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार