चिनियाँ नाकाबाट ४ किलो सुन तस्करी गर्ने ३ जना पक्राउ


 


काठमाडौं । चीनबाट ल्याइएको ४ किलो अवैध सुनसहित ३ जना पक्राउ परेका छन् । दोलखाको बिगु गाउँपालिका ३ जामुनेबाट प्रहरीले चीनबाट ल्याएको सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

चीनबाट ल्याइएको अवैध सुनको ओसारपोसार गर्दै गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिएका छन् । खड्काका अनुसार उनीहरुले उक्त चीनले बन्द गरेको लप्ची नाका हुँदै नेपाल भित्र्याएका हुन् ।

यसो त चीनले रोङजिया र कोल्दुम नाका आइतबारदेखि एक साताका लागि खुला गरेको छ । तर, यी नाकाबाट सुन तस्करी गर्न असम्भव रहेको स्थानीयहरु बताउँछन् । यसैले पनि तस्करले सुन तस्करीका लागि बन्द रहेको लप्ची नाका प्रयोग गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । तस्करीको ४ किलो सुन फेला परेको पैदलमार्गबाट ठूलो परिमाणमा सुन भित्रिएको अनुमान गरिएको छ । उक्त विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्