चिनियाँ घरजग्गा बजारमा अझै सुधारको संकेत देखिएन


 


बेइजिङ । चीनको घरजग्गा बजारमा अझै सुधारको संकेत नदेखिँदा अर्थतन्त्रमै जोखिम उत्पन्न हुने चिन्ता बढेको छ । चीनको घरजग्गा क्षेत्रमा लगानीकर्ताको आकर्षण घट्दै जाँदा अर्थतन्त्रमै जोखिम उत्पन्न हुने चिन्ता बढेको हो ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सका अनुसार चिनियाँ घरजग्गा निर्माणको गति सुस्ताएको छ भने अपार्टमेन्टको मूल्य पनि घट्दो क्रममा रहेको छ । सानाठूला गरी ७० वटा सहरमा घरजग्गाको मूल्यको विश्लेषणबाट अमेरिकी बैंकिङ कम्पनी गोल्डम्यान स्याक्सले अगस्ट महिनामा चीनमा अघिल्लो वर्षको तुलनामा घरजग्गाको मूल्य २ दशमलब ९ प्रतिशतले ओरालो लागेको जनाएको छ । यसअघि जुलाई महिनामा यो २ दशमलब ६ प्रतिशतले ओरालो लागेको थियो ।

यद्यपि चीनका स्थानीय सरकारहरुले भने निर्माण व्यवसायीहरुलाई घरजग्गाको मूल्य नघटाउन दबाब दिँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

टियान्जिन शोध संस्थाका अनुसार चीनका १ सय सहरमा दुई वर्षअघि सबैभन्दा धेरै रहेको घरजग्गाको मूल्यमा औसत १४ प्रतिशतले गिरावट देखिएको छ । त्यसैगरी, घरभाडा पनि ५ प्रतिशतले घटेको बताइएको छ । यसबाहेक घरजग्गा व्यवसायीले ऋण चुक्ता गर्न नसक्दा चिनियाँ बैंकिङ क्षेत्रमा पनि वित्तीय दबाब थपिएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्