चिनियाँ ऋणको चङ्गुलमा लाओस, अर्थतन्त्र संकटमा


 


एजेन्सी । दक्षिणपूर्वी एसियाको देश लाओसको अर्थतन्त्र अत्यधिक ऋणका कारण संकटान्मुख अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार लाओसको सार्वजनिक ऋण कुल ग्राहस्थ उत्पादनको १२३ प्रतिशत पुगेको छ जसमध्ये आधा भन्दा बढी हिस्सा चीनसँग लिएको ऋण रहेको छ । चीनले लाओसको ठूला ठूला परियोजनामा उल्लेख्य ऋण प्रवाह गरेको छ जसलाई अर्थविद्हरुले ऋणजाल रणनीति भन्ने गरेका छन् ।

लाओसले चीनसँग मिलेर आफ्नो राजधानी भियन्टाइनलाई चीनको कुन्मिङ शहरसँग जोड्ने रेलमार्गका रुपमा सबैभन्दा ठूलो ऋण परियोजना निर्माण गरिसकेको छ । सन् २०२१ को डिसेम्बरमा उद्घाटन गरिएको उक्त परियोजना चीनको महत्वाकांक्षी बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गतकै योजना हो । उक्त योजनामा चीनको सरकारी कम्पनीहरुको ७० प्रतिशत सेयर रहेको छ भने लाओस सरकारको ३० प्रतिशत लगानी छ जसमध्ये करिब २ खर्ब डलर ऋण रहेको छ ।

यसैगरी उक्त क्षेत्रको विद्युत निर्यातकर्ता बन्न लाओसले बाँध तथा पूर्वाधार निर्माणमा पनि ठूलो परिमाणमा ऋण लिएको छ । सन् २०२१ को ऋण संकटकाबीच लाओसको पावर ग्रीड व्यवस्थापनका लागि पनि चीनकै प्रमुख लगानी रहेको कम्पनीलाई २५ वर्षका लागि लाओस सरकारले अनुमति प्रदान गरेको छ ।

ठूला लगानीमा निर्माण भएका परियोजनाको ऋण तिर्न मात्रै आगामी ५ वर्षसम्म लाओसले १.२ खर्ब डलर छुट्ट्याउन पर्ने हुनेछ । सन् २०२३ मा कुल ग्राहस्थ उत्पादन १४.०९ खर्ब हुने प्रक्षेपण गरिएको लाओसले ऋण तिर्न मात्रै कुल ग्राहस्थ उत्पादनको ८.५ प्रतिशत खर्च गर्नुपर्ने हुनेछ ।

प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्