तिब्बती शरणार्थीसँग त्रसित चीन


 


सन् १९५९ मा तिब्बतबाट भागेका खम्पा विद्रोहीहरुसँग चीन अहिले पनि त्रसित छ । उनीहरु नेपालका विभिन्न ठाउँमा शिविर बनाएर बसेका छन् । तिब्बती शरणार्थीले नेपालबाट चीनविरुद्ध गतिविधि गर्नेमा चीन अझै सशंकित छ । त्यसैले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणक्रममा उसले शरणार्थीले चीनविरुद्ध गतिविधि नगरोस् भनेर नेपालसँग ग्यारेन्टी खोजेको छ ।

२ देशका प्रमुखहरुले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘नेपाली पक्षले तिब्बत मामिला चीनको आन्तरिक मामिला भएकाले नेपाली भूमिमा चीनविरुद्ध कुनै पनि पृथकतावादी गतिविधि हुन दिइने छैन ।’ शरणार्थीहरु खासगरी गण्डकी प्रदेशका विभिन्न जिल्लामा छन् । उनीहरु मुस्ताङको छैंरो, पोखरा र दुलेगौंडामा शिविर बनाएर बसेका छन् । चीनले तिब्बती शरणार्थीमात्रै होइन, अहिले चर्किरहेको ताइवानको स्वतन्त्रता आन्दोलनविपरीत आफ्नो पक्षमा लाग्न नेपाललाई दबाब दिएको छ । फलस्वरुप ताइवानको स्वतन्त्रता आन्दोलनमा नेपालले असहमति जनाएको छ । प्रचण्डले ताइवान चीनको अविभाज्य भुभाग रहेको भन्दै तावानको पक्षमा नरहेको घोषणा गरेका हुन् ।

पोखरा एयरपोर्ट सञ्चालनमा सामान्य प्रतिबद्धता
चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग चीनले पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको प्रतिबद्धता जनाएको छ । चीनकै ऋण सहयोगमा निर्मित पोखरा विमानस्थलबाट उद्घाटनको ९ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएकोमा सन्तोष व्यक्त गरेको र सञ्चालनमा चासो दिएको चीनबाट जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । ‘दुवै देशले आफ्ना हवाई सेवालाई थप विस्तार गर्ने र बजार आवश्यकता आधारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट थप उडान गर्नेछन् । यसबाट पर्यटन तथा व्यापार प्रवद्र्धन र आर्थिक क्रियाकलापमा वृद्धि हुने अपेक्षा गरिएको छ,’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

चीन भ्रमणमा जानुअघि पोखरेली अगुवाले चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दिइएको ऋणलाई अनुदानमा बदल्न माग गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए । तर अनुदानका विषयमा भने औपचारिक जानकारी गराइएको छैन । प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र नेसनल पिपल्स कंग्रेसका स्थायी कमिटी अध्यक्ष झाओ लिजीसँग भेट गरेका छन् । दुवै देश परम्परागत मित्रता अझै गहिरो बनाउन सहमत भएका विज्ञप्तिमा उल्लेख छ । भेटमा क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि छलफल भएको थियो ।

नेचुङमा बन्दरगाह, उत्तरी नाका खुले
चीनले कोरला नाका छेउमा नेचुङ सुख्खा बन्दरगाह निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । लिजी–नेचुङ सीमा बन्दरगाहको नेपाल क्षेत्रमा पूर्वाधार निर्माण गर्न सहयोग गर्ने घोषणा गरेको हो । जतिसक्दो छिटो पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । नेपाल र चीनले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा २ देशबीच रहेका पारम्परिक सीमा व्यापार बिन्दुलाई पुन: खोल्ने समझदारी भएको छ । योसँगै गण्डकी प्रदेशअन्तर्गत पर्ने कोरला नाका र रुइला नाका खुलेका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिले २०७७ सालमै नेचुङमा सुख्खा बन्दरगाह निर्माण गर्ने गरी अध्ययन गरेर फर्किएको थियो । चीनले लिजीमा बन्दरगाह निर्माण गरिसकेको छ । लिजी कोरला नाकाको नजिकै छ । जहाँबाट सदियौंदेखि अन्न, नुन र बाख्राको व्यापार गर्दै आएका छन् । ‘हामी दुवै पक्ष लिजी–नेचुङ बन्दरगाह (सुक्खा) खुलेकोमा हर्षित छौं । चिनियाँ पक्ष आउँदो उचित समयमा लिजी–नेचुङ बन्दरगाहको सुविधा वृद्धिमा सहयोग पुर्‍याउन तयार छ,’ वक्तव्यमा भनिएको छ । बन्दरगाह खुलेको भनिए पनि सञ्चालनमा आएको छैन ।

कोरला नाकामा चीनतर्फ भव्य संरचना तयार भएको छ । तर नेपालको भने सीमाभन्दा १५ किलोमिटर वर नेचुङमा सामान्य भवन छ । भन्सारका लागि पनि चीन सहयोग गर्ने र कोरलालाई २ देशबीचको व्यापार ट्रान्जिट बनाउन तयार छ । चिनियाँ पक्षले नेपालको उत्तरी भेगका दुर्गम गाउँहरूमा विद्युतीकरण गर्न सहयोग गर्ने भएको छ । चीनको सिजाङ स्वायत्त क्षेत्रबाट बिजुली आपूर्तिका लागि नेपाली पक्षले गरेको अनुरोधलाई चीनले सकारात्मक रुपमा लिएको हो । यस्तै, सीमा क्षेत्रमा संयुक्त अनुगमनका लागि नेपाल र चीन दुवै पक्ष सहमत भएका छन् । सीमा व्यवस्थापनका लागि २ पक्षबीच भएका सहमति यथाशीघ्र कार्यान्वयनमा ल्याउन पनि सहमति जनाएको बताइएको छ । सीमा निर्धारण र त्यसको व्यवस्थापनमा चुस्तताका लागि नेपालको गृह मन्त्रालय र चीनको सार्वजनिक सुरक्षा आन्तरिक मामिला मन्त्रालयबीच त्रिपक्षीय सहकार्य गर्न दुवै देश सहमत भएका हुन् ।

चीनले नेपाल भ्रमण वर्ष मनाइदिने
नेपालमा चिनियाँ पर्यटक आकर्षणका लागि समय समयमा मैत्रीपूर्ण महोत्सव गर्न चीन सहमत भएको छ । यसअघि पनि पोखरामा ड्रागन बोट फेस्टिभल आयोजना गरिएको थियो । सन् २०२५ मा चीनले नेपाल भ्रमण वर्षको रुपमा प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । ‘दुवै पक्ष सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गर्न सहमत भएका छन् । नेपालमा चिनियाँ पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मैत्री महोत्सव गर्न र दुई देशका सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न दुवै देश सहमत छ,’ संयुक्त वक्तव्यमा उल्लेख छ । प्रचण्डले चीनले हासिल गरेको आर्थिक तथा सामाजिक सफलतामा प्रशंसा व्यक्त गरेका छन् । बिआरआई कार्यान्वयनमा भने दुवै पक्षले चासो दिएका छन् । याक तथा च्याङ्ग्राको नश्ल सुधारका लागि सहकार्य गर्ने सहमति भएको छ ।

प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्